रौतहटमा स्रोत नखुलेको २ लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

साझेदारी डेलि
62 पाठक संख्या

बारा । रौतहटमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

प्रहरीका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालयअगाडि जिल्ला प्रहरी कार्यालय र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस कम्पनीको राइडर मोटरसाइकलमा सवार गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलिलाई नियन्त्रणमा लिएको हो।

शंका लागेर जाँच गर्दा उनको साथबाट नेपाली र भारतीय रुपैयाँ तथा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले अलिको साथबाट नेपाली ५०० रुपैयाँका २३३ थान नोट गरी १ लाख १६ हजार ५०० रुपैयाँ र भारतीय ५०० रुपैयाँका २०० थान नोट गरी १ लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

बरामद रकम तथा मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a review