कलैया । बाराको कलैया उपमहानगरपालिका–१५ सोनरनियाका एक विपन्न परिवारलाई अन्नपूर्ण अभियानमार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको छ। पूर्ण ब्रह्म कबीर उपासक समाज बाराले सोमबार आयोजना गरेको कार्यक्रममा सोथा पासवान हजाराको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।
सन्त रामपाल जी महाराजद्वारा सञ्चालित उक्त अभियानअन्तर्गत छोटेलाल दासले परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गरेका थिए। सहयोगमा चामल, आलु, आटा, प्याज, तोरीको तेल, चियापत्ती, अचार, चना दाल, नुन, चिनी, लुगा धुने सर्फ र कापीलगायतका वस्तु समावेश थिए।
अभियानका प्रतिनिधि छोटेलाल दासका अनुसार असहाय तथा आर्थिक रूपमा कमजोर व्यक्तिको आधारभूत आवश्यकता पूरा गर्न यस्तो सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। अभियानले आवश्यकतामा रहेका व्यक्तिलाई भोजनसँगै वस्त्र, स्वास्थ्य उपचार, शिक्षा र आवासको व्यवस्था गर्ने लक्ष्य राखेको उनले बताए।
‘जसले गरिबको दुःख सुन्छन्, उसको भगवानले सुन्नुहुन्छ’ भन्ने सन्देशसहित सञ्चालित अभियानले विपन्न परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।



