कोल्हबी नगर प्रमुखमा रास्वपाबाट मिलन गहतराजको नाम चर्चामा

साझेदारी डेलि
14 पाठक संख्या

कोल्हवी । बिनिता चौधरी । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाराको कोल्हबी नगरपालिकामा राजनीतिक गतिविधि बढ्न थालेको छ।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोल्हबी नगरपालिकाको नगर प्रमुख (मेयर) पदका सम्भावित उम्मेदवारका रूपमा युवा समाजसेवी तथा व्यवसायी मिलन गहतराजको नाम चर्चामा आउन थालेको छ।

स्थानीयस्तरमा चौतारो, चिया पसल तथा सार्वजनिक स्थानमा हुने राजनीतिक छलफलमा गहतराजको नाम उल्लेख हुन थालेको हो। यद्यपि, उनको उम्मेदवारीबारे पार्टीको आधिकारिक निर्णय तथा औपचारिक घोषणा भने हुन बाँकी छ।

गहतराज विगत करिब २० वर्षदेखि कोल्हबी क्षेत्रमा सुनचाँदी व्यवसाय गर्दै आएका व्यवसायी हुन्। लामो समयदेखि स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्कमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका कारण नगरवासीका दैनिक समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ।

सम्भावित उम्मेदवारीको चर्चासँगै गहतराजले नगरको आगामी विकास योजनाबारे आफ्ना धारणा सार्वजनिक गर्दै समाजका पछाडि परेका वर्गका समस्या उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विशेषगरी दलित, गरिब तथा महिलाले भोग्दै आएका समस्या र चुनौतीलाई सम्बन्धित निकायसम्म पुर्‍याउनुका साथै उनीहरूको आवाजलाई प्राथमिकताका साथ उठाउने योजना रहेको बताएका छन्।

नगरको विकास प्रक्रियामा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले समाजका कमजोर तथा अवसरबाट वञ्चित नागरिकले पनि विकासको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने धारणा राखेका छन्। कोल्हबी नगरपालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको योजना रहेको छ।

गुणस्तरीय शिक्षामा नागरिकको पहुँच विस्तार गर्ने, स्वास्थ्य सेवामा सुधार ल्याउने तथा नगरका विभिन्न क्षेत्रमा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिने विषयलाई उनले आफ्नो भावी योजनासँग जोडेका छन्।

स्थानीय नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर नगरका समस्या पहिचान गर्ने र नागरिकका आवश्यकता तथा सुझावका आधारमा विकासका योजना अघि बढाउनुपर्ने उनको धारणा रहेको छ।

गहतराजले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगेमा पदअनुसार प्राप्त हुने तलब तथा भत्ता नलिने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताको सेवा गर्ने उद्देश्यले नेतृत्वमा पुग्ने अवसर पाएमा व्यक्तिगत सुविधाभन्दा नगरवासीको हित र विकासलाई प्राथमिकता दिने उनको भनाइ छ।

व्यवसायका क्रममा विभिन्न वर्ग, समुदाय र पेसामा आबद्ध व्यक्तिसँग सम्पर्कमा रहने अवसरले स्थानीय समस्या बुझ्न सहयोग पुगेको उनको भनाइ छ। यही अनुभवलाई सामाजिक सेवा र नगर विकासमा उपयोग गर्ने उनको चाहना रहेको बताइएको छ।

Leave a review