बारा । स्थानीय तहको आगामी निर्वाचनका लागि सरकारले मिति घोषणा नगर्दै बारामा चुनावी माहोल बनाउन सम्भावित उम्मेदवारहरू सक्रिय हुन थालेका छन् । पालिका प्रमुखदेखि वडा सदस्यसम्मका आकांक्षीले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाउँदै आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउने प्रयास गरिरहेका छन् ।
बाराका १६ वटै स्थानीय तहमा विभिन्न पदका आकांक्षीले फेसबुकलगायत सामाजिक सञ्जालमा तस्बिर, राजनीतिक सन्देश र विकासका प्रतिबद्धतासहितका सामग्री सार्वजनिक गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेर उनीहरूले मतदातामाझ आफ्नो सम्भावित उम्मेदवारीको संकेत गरिरहेका छन् ।
कलैया उपमहानगरपालिकादेखि महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका तथा विभिन्न गाउँपालिकामा देखिएको यस्तो सक्रियताले स्थानीय राजनीतिक वृत्तमा आगामी निर्वाचनबारे बहस सुरु गराएको छ । कतिपय आकांक्षीले आफूलाई भावी नेतृत्वका रूपमा प्रस्तुत गर्न थालेका छन् भने केहीले विगतको राजनीतिक सक्रियतालाई चुनावी आधार बनाउने प्रयास गरिरहेका छन् ।
तर, राजनीतिक दलहरूले भने उम्मेदवार छनोटको औपचारिक प्रक्रिया अघि बढाइसकेका छैनन् । अहिले दलहरू वडा, क्षेत्र, इलाका, जिल्ला तथा प्रदेश तहमा संगठन विस्तार र विभिन्न कमिटी गठनमा केन्द्रित देखिन्छन् । दलको आधिकारिक निर्णय आउनुअघि नै आकांक्षीहरूले व्यक्तिगत रूपमा आफ्नो पक्षमा समर्थन जुटाउने रणनीति अपनाएका छन् ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट घण्टी चुनाव चिह्नमा उम्मेदवार बन्न चाहनेहरूको सक्रियताबारे स्थानीय राजनीतिक क्षेत्रमा चर्चा हुन थालेको छ । उक्त दलबाट टिकट पाउने अपेक्षासहित जिल्ला तहदेखि केन्द्रीय नेतृत्वसम्म पहुँच विस्तार गर्ने प्रयास भइरहेको अगुवा कार्यकर्ताहरूको भनाइ छ । यद्यपि, उम्मेदवारबारे दलको औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
आगामी निर्वाचनमा पुराना राजनीतिक अनुहारसँगै नयाँ तथा युवा पुस्ताका आकांक्षी पनि प्रतिस्पर्धामा देखिन सक्ने अनुमान गरिएको छ । नागरिक समाज बारा अध्यक्ष उमेशलाल दासका अनुसार, अघिल्लो निर्वाचनमा पराजित भएका केही उम्मेदवार तथा वर्तमान जनप्रतिनिधिमध्ये केही पुनः प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । युवाहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने उद्देश्यले आफ्नो सक्रियता बढाइरहेका छन् ।
यसपटकको चुनावी बहसमा उम्मेदवारको प्रचारसँगै उनीहरूको विगतको कार्यसम्पादनलाई पनि महत्त्व दिन थालिएको छ । जेन एण्ड युथ अफ बाराका अध्यक्ष शौरभ पाण्डेका अनुसार, निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पूरा गरे भन्ने विषयमा तथ्यांक संकलन र मूल्यांकन गर्ने अभियान अघि बढाउने तयारी भइरहेको छ ।
निर्वाचनको मिति र उम्मेदवार छनोटको प्रक्रिया स्पष्ट नहुँदै सामाजिक सञ्जालमा देखिएको सक्रियताले चुनावी प्रतिस्पर्धाको प्रारम्भिक संकेत दिएको छ । यद्यपि, सामाजिक सञ्जालमा व्यक्त गरिएका दाबी र प्रतिबद्धताले मात्रै उम्मेदवारीको औपचारिकता प्राप्त गर्दैनन् ।
आगामी निर्वाचनमा मतदाताले दलगत आबद्धताभन्दा बाहिर गएर उम्मेदवारको क्षमता, विगतको काम, विकासप्रतिको दृष्टिकोण र जनतासँगको सम्बन्धलाई कति महत्त्व दिन्छन् भन्ने विषयले बाराको स्थानीय राजनीतिक प्रतिस्पर्धाको दिशा निर्धारण गर्ने देखिन्छ ।


