बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर एक जना युवक घाइते भएका छन्। घटनाका क्रममा प्रदर्शनकारीहरूले मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरी क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनापछि फेटा क्षेत्र तनावग्रस्त बनेको छ।
फेटा गाउँपालिकाले शनिबार अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो। गाउँपालिकाले सार्वजनिक गरेको ब्यानरमा अस्पताल निर्माण तथा सेवा सुविधासहित उद्घाटन गर्ने उल्लेख भए पनि अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत् तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको भन्दै स्थानीय सचेत नागरिकले शान्तिपूर्ण विरोध जनाएका थिए।
स्थानीयवासीले अस्पताल पूर्ण रूपमा सम्पन्न गरी आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको व्यवस्था गरेर मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै आएका थिए। तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको मागलाई बेवास्ता गर्दै जबर्जस्ती उद्घाटन गर्न खोजेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। यही विषयलाई लिएर विवाद बढ्दै जाँदा अवस्था तनावपूर्ण बनेको बताइएको छ।
विवादले उग्र रूप लिएपछि इलाका प्रहरी कार्यालय गण्डकका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। झडप नियन्त्रणमा लिने क्रममा गोली चलेको र गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवान घाइते भएको बताइएको छ। उनलाई पेटमा गोली लागेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरूले ९ वटा मोटरसाइकलमा आगजनी गरी नष्ट गरेको तथा अस्पतालमा तोडफोडबाट क्षति पुगेको बताइएको छ। घटनामा भएको कुल क्षति, आगजनीमा संलग्न व्यक्तिहरू तथा गोली कसले चलाएको हो भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी छ।
गाउँपालिकाका अध्यक्ष अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध रहेको बताइएको छ। अस्पतालजस्तो जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा स्थानीयको माग, अस्पतालको वास्तविक अवस्था र सेवा सञ्चालनको तयारीबारे स्पष्टता नहुँदा विवाद चर्किएको स्थानीयको भनाइ छ।
अस्पताल उद्घाटनको विवादले हिंसात्मक रूप लिनु गम्भीर विषय बनेको छ। जनताको स्वास्थ्य सेवाका लागि निर्माण गरिएको अस्पतालको उद्घाटन नै झडप, गोली प्रहार, आगजनी र तोडफोडको घटनासँग जोडिनु दुःखद हो। अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको छ कि छैन भन्ने विषयमा गाउँपालिकाले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।
घटनापछि फेटा क्षेत्रमा तनाव कायम रहेको बताइएको छ। घाइते युवकको अवस्थाबारे, गोली प्रहारको परिस्थितिबारे तथा अस्पताल र सवारीसाधनमा भएको क्षतिबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।
फेटामा अस्पताल उद्घाटनको विषयलाई लिएर झडप, गोली लागेर १८ वर्षीय युवक घाइते
Leave a review
Leave a review


