प्रादेशिक अस्पताल कलैयाको सेवा सुधार र तीन वर्षको आर्थिक लेखापरीक्षण सार्वजनिक गर्न माग गर्दै रास्वपाद्वारा सिडिओलाई ज्ञापनपत्र

संदिप प्रसाद यादव
115 पाठक संख्या

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिकाले कलैया प्रादेशिक अस्पतालको सेवा सुधार, निष्पक्ष लेखापरीक्षण तथा आन्तरिक व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ । रास्वपा कलैया उपमहानगरपालिकाका नगर सभापति बब्लु गिरिको नेतृत्वमा सोमबार गएको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बारा जिल्लाका नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा रहेको प्रादेशिक अस्पताल कलैयाको सेवा प्रवाह, सरसफाइ, मानवस्रोत व्यवस्थापन, उपकरण सञ्चालन तथा आर्थिक पारदर्शिताबारे गम्भीर जनचासो उठिरहेको भन्दै रास्वपाले अस्पताललाई भरपर्दो उपचार केन्द्रका रूपमा विकास गर्न सेवा सुधारसँगै तथ्य र अभिलेखमा आधारित निष्पक्ष छानबिन आवश्यक रहेको जनाएको छ ।

ज्ञापनपत्रमा अस्पतालमा आवश्यकताभन्दा बढी करार तथा दैनिक ज्यालादारीमा कर्मचारी राखिएको, नियुक्ति र हाजिरीमा पारदर्शिता नदेखिएको, कर्मचारीको उपस्थितिबिना तलब वा भत्ता भुक्तानी भएको, अस्पतालको समय र स्रोतको उपयोगबारे प्रश्न उठेको तथा अस्पतालको आन्तरिक आम्दानी र खर्च प्राथमिकताअनुसार नभएको भन्ने गुनासो आएको उल्लेख छ ।

त्यसैगरी, रात्री सेवामा चिकित्सकको उपलब्धता, सरसफाइ, प्रयोगशाला र उपकरण सञ्चालन, औषधि खरिद तथा अस्पतालको सम्पत्ति उपयोगबारे पनि छानबिन र सुधार आवश्यक रहेको रास्वपाको भनाइ छ । यी विषयलाई प्रमाणित निष्कर्षका रूपमा नभई निष्पक्ष परीक्षण गर्नुपर्ने जनगुनासाका रूपमा प्रस्तुत गरिएको ज्ञापनपत्रमा स्पष्ट पारिएको छ ।

यस विषयमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरविन्द साहले सदनमा आवाज उठाउनुभएकोमा उहाँप्रति धन्यवाद व्यक्त गर्दै अब सम्बन्धित निकायबाट समयबद्ध, पारदर्शी र जवाफदेहितासहित अस्पतालको सेवा सुधारमा ठोस परिणाम देखिनुपर्ने माग गरिएको छ ।

रास्वपाले सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा स्वास्थ्य, लेखा र व्यवस्थापन क्षेत्रका विज्ञसमेत रहने गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वार्थको द्वन्द्व नभएको सात सदस्यीय निष्पक्ष लेखापरीक्षण टोली गठन गर्न माग गरेको छ । टोलीलाई आवश्यक अभिलेख तथा स्थल निरीक्षणमा पहुँच दिई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिनुपर्ने माग गरिएको छ ।

अस्पतालका विभिन्न विभागअनुसार बिरामीको संख्या, प्रदान गरिएको उपचार, सेवा उपलब्धता, रेफरलको संख्या, बिरामीलाई कसले र किन अन्य स्वास्थ्य संस्थामा पठाएको, उपचारको नतिजा तथा सेवा पर्खाइसमेत समेटेर विस्तृत बिरामी लेखापरीक्षण (पेसियन्ट अडिट) गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै, अस्पतालको स्वीकृत दरबन्दी, वास्तविक जनशक्ति आवश्यकता, नियुक्ति प्रक्रिया, कर्मचारीको योग्यता, जिम्मेवारी, हाजिरी, कामको अभिलेख, कानुनी व्यवस्था र पारिश्रमिकका आधारमा मानवस्रोत लेखापरीक्षण (ह्युमन रिसोर्स अडिट) गर्नुपर्ने माग गरिएको छ ।

अस्पतालको सम्पत्ति, आन्तरिक आम्दानी, बजेट, भत्ता, पारिश्रमिक, खरिद तथा अन्य खर्चको अभिलेख परीक्षण गरी पछिल्ला तीन आर्थिक वर्षको आर्थिक लेखापरीक्षण विश्लेषण (फाइनान्सियल अडिट एनालाइसिस) सार्वजनिक गर्नुपर्ने रास्वपाको माग छ ।

त्यसैगरी, खरिद प्रक्रिया, नियुक्ति, कार्यालय सञ्चालन, औषधि तथा उपकरण व्यवस्थापन, प्रयोगशाला र मेसिनको सञ्चालन तथा मर्मतसम्भारसमेत समेटेर सञ्चालन लेखापरीक्षण (अपरेसन अडिट) गर्नुपर्ने माग गरिएको छ । औषधि खरिदमा बिलभर्पाई नभएको वा रकम हिनामिना भएको भन्ने गुनासोसमेत खरिद आदेश, बिल, दाखिला प्रतिवेदन, मौज्दात तथा वितरण अभिलेख भिडाएर सूक्ष्म रूपमा जाँच गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

लेखापरीक्षण टोलीको प्रतिवेदन प्राप्त भएपछि त्यसका निष्कर्ष, सिफारिस र कार्यान्वयनको समयतालिका सम्बन्धित निकाय तथा सर्वसाधारणसमक्ष सार्वजनिक गर्नुपर्ने र लेखापरीक्षणबाट अनियमितता पुष्टि भए प्रचलित कानुन र उचित प्रक्रियाअनुसार जिम्मेवार पदाधिकारी तथा व्यक्तिमाथि कारबाही गरी रकम असुलउपर गर्नुपर्ने माग गरिएको छ ।

अस्पतालको तत्काल सेवा तथा व्यवस्थापन सुधारका लागि सरसफाइ, बिरामीमैत्री सेवा र आवश्यक स्वास्थ्यकर्मीको उपलब्धतामा सुधार गर्नुपर्ने रास्वपाको माग छ । अस्पतालका उपकरण तथा मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने, प्रयोगशाला, औषधि वितरण र अन्य अत्यावश्यक सेवाको नियमितता सुनिश्चित गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिको सार्वजनिक र विश्वसनीय अभिलेख राख्न बायोमेट्रिक हाजिरी प्रणाली लागू गर्नुपर्ने तथा हाजिरी र ड्युटी रोस्टरअनुसार तलब तथा भत्ता भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ । अस्पतालको सेवा आवश्यकता र उपलब्ध जनशक्तिका आधारमा दुई सिफ्टमा सेवा विस्तार गर्नुपर्ने, रात्री सिफ्टमा चिकित्सकसहित आवश्यक कर्मचारीको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने र ड्युटी रोस्टर अस्पताल परिसरमा सार्वजनिक गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ ।

त्यस्तै, अस्पतालका संवेदनशील सेवा क्षेत्र, औषधि भण्डार, प्रवेशद्वार र उपकरण कक्षमा रहेका सीसीटीभी क्यामेरा चालु अवस्थामा राखी नियमित अनुगमन तथा अभिलेख संरक्षणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । बिरामीलाई अन्य अस्पतालमा पठाउँदा बिरामीको अवस्था, रेफरल गर्नुको कारण र पठाइने स्वास्थ्य संस्थाको विवरण अभिलेखमा राख्नुपर्ने तथा रेफरलसम्बन्धी निर्णय सम्बन्धित चिकित्सक वा विशेषज्ञ चिकित्सकको हस्ताक्षर र कारणसहित मात्रै जारी हुने व्यवस्था लागू गर्नुपर्ने रास्वपाको माग छ ।

अस्पतालमा हाल कार्यरत करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूको नियुक्ति, योग्यता, कामको आवश्यकता, हाजिरी र भुक्तानीको तत्काल परीक्षण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।आवश्यकता र कानुनी प्रक्रियासँग मेल नखाने नियुक्ति वा भुक्तानीबारे छानबिन गरी कानुनसम्मत निर्णय गर्नुपर्ने माग गरिएको छ ।

कुनै पद आवश्यक भए खुला सूचना प्रकाशित गरी न्यूनतम योग्यता, छनोट मापदण्ड र योग्यताक्रम पारदर्शी रूपमा निर्धारण गरेर मात्रै नियुक्ति गर्नुपर्ने र छनोटको नतिजा तथा नियुक्तिको आधार सार्वजनिक गर्नुपर्ने रास्वपाको माग छ ।

दैनिक ज्यालादारी नियुक्ति अस्थायी र स्पष्ट कामका लागि मात्रै गर्नुपर्ने तथा नवीकरण नगरी अधिकतम ३० दिनका लागि मात्रै लागू गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । कुनै पनि कर्मचारीलाई एक महिनाभन्दा बढी राख्नुपर्ने भए त्यसको कारण र पदको आवश्यकता सार्वजनिक गरी सूचना तथा निष्पक्ष छनोट प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने माग गरिएको छ ।

नियमविपरीत नियुक्ति वा काममा उपस्थित नभएको अवधिको भुक्तानी भएको पुष्टि भए जिम्मेवार अधिकारीको भूमिका र कानुनबमोजिमको प्रक्रिया पहिचान गरी बेरुजु कायम, रकम असुलउपर वा अन्य आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सम्बन्धित पदाधिकारीको जिम्मेवारीसमेत प्रमाण र अधिकारक्षेत्रका आधारमा निर्धारण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रादेशिक अस्पताल कलैयाको दीर्घकालीन नीति तथा विकास योजनाअन्तर्गत ३० दिनभित्र प्रदेशस्तरीय अस्पतालको सेवा मापदण्ड, आवश्यक दरबन्दी, स्रोतसाधन, उपकरण, प्रयोगशाला, सेवा समय र व्यवस्थापन संरचनासम्बन्धी नीतिगत प्रस्ताव तयार गर्न रास्वपाले माग गरेको छ ।

अस्पतालको कुनै एक विभागलाई विशेषज्ञ सेवा केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना, त्यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार, उपकरण, लागत तथा सेवा प्रभावबारे अध्ययन गरी चरणबद्ध योजना पेस गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरी, अस्पतालको सम्पत्ति र उपकरणको अद्यावधिक सूची तयार गरी तिनको उपयोग, मर्मतसम्भार र जिम्मेवार शाखा स्पष्ट गर्नुपर्ने तथा आन्तरिक आम्दानी र स्रोतसाधनलाई बिरामी सेवा, योग्य जनशक्ति र अस्पताल विकासमा प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने माग गरिएको छ ।

अस्पतालप्रति नागरिकको विश्वास कायम राख्न शून्य सहनशीलताको नीति अवलम्बन गरी पारदर्शिता, उत्तरदायित्व र सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने उल्लेख गर्दै रास्वपाले माथिका मागमा आवश्यक निर्णय गरी लेखापरीक्षण टोली गठन, तत्काल सेवा सुधार र समयबद्ध प्रतिवेदनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

ज्ञापनपत्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका मन्त्रीलाई बोधार्थ दिइएको छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश, स्वास्थ्य निर्देशनालय, मधेश प्रदेश र प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिलाई प्रतिलिपि पठाइएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा कलैया उपमहानगरपालिकाका नगर सचिव विजय जयसवाल, राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सदस्य सुनील प्रसाद कुशवाहा, कलैया उपमहानगरपालिका-२ का वडा सभापति सचितानन्द मिश्र, वडा नं. ५ का वडा सभापति सागर मेहतासहित रास्वपा बाराका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a review