भारतीय भूमिमा ब्राउन सुगरसहित बाराका युवक पक्राउ

साझेदारी डेलि
51 पाठक संख्या

कलैया । भारतको बिहारस्थित आदापुर क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित बाराका एक युवक पक्राउ परेका छन्। भारतीय सुरक्षा निकायले संयुक्त गस्तीका क्रममा देवताल गाउँपालिकाका २४ वर्षीय मनोहर सिंहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

देवताल गाउँपालिका–७ फुलवरियाका सिंहलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१औँ बटालियनअन्तर्गत बेल्दरवामठस्थित बीओपीको टोलीले पक्राउ गरेको हो। बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारीसँगको समन्वयमा गरिएको संयुक्त सुरक्षा गस्तीका क्रममा उनी पक्राउ परेको भारतीय सुरक्षा निकायले जनाएको छ।

एसएसबी मुख्यालय पिपराकोठीका अनुसार बिहारको आदापुर थाना क्षेत्रअन्तर्गत श्यामपुर गाउँनजिक सुरक्षा निगरानी गर्ने क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८३/६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र शंकास्पद अवस्थामा हिँडिरहेका सिंहलाई रोकेर जाँच गरिएको थियो।

जाँचका क्रममा प्लास्टिकको बोरामा लुकाएर राखिएको ७६.६६ ग्राम ब्राउन सुगर फेला परेको सुरक्षा निकायको भनाइ छ। उनी चढेको बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

Leave a review