मधेस प्रदेशमा सत्ता समीकरण पेचिलो : मुख्यमन्त्री चयनमा दलहरूबीच रस्साकस्सी

साझेदारी डेलि
313 पाठक संख्या

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ । प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिन लाग्दासमेत मुख्यमन्त्रीको नेतृत्व र सरकार गठनको प्रक्रियाबारे प्रमुख दलहरूबीच सहमति बन्न सकेको छैन ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेशसभामा बहुमत जुटाउने अवस्था कमजोर भएपछि गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि मंसिर ४ गते अपराह्न ४ बजेसम्म बहुमतको आधारसहित दाबी पेस गर्न आह्वान गरेका थिए ।

नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यको प्रयास भइरहेको छ । एमाले र नेकपाले जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने पक्षमा प्रतिबद्धता जनाएका छन् । यद्यपि एमालेभित्र कांग्रेससँग सहकार्य गरेर सरकार गठन गर्नुपर्ने मतसमेत देखिएको छ ।

कांग्रेसले पनि जसपाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने तथा एमालेको नेतृत्व स्वीकार गर्ने विकल्प खुला राखेको छ । तर एमालेको शीर्ष नेतृत्व जसपा नेपालकै पक्षमा देखिएकाले चार दलबीचको छलफलले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

सरकार गठनमा नेतृत्वसँगै संवैधानिक प्रक्रियाको विषय पनि विवादको कारण बनेको छ । जसपा नेपाल संविधानको धारा १६८ (३) अनुसार सरकार गठनको पक्षमा रहेको बताइए पनि एमालेले धारा १६८ (२) कै प्रक्रिया अपनाउनुपर्ने अडान राखेको छ ।

उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ भने उपधारा (३) मा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने प्रावधान छ । यही व्यवस्थाको व्याख्या र नेतृत्वको दाबीले मधेस प्रदेशको नयाँ सरकार गठन प्रक्रिया थप जटिल बनेको छ ।

यस प्रदेश प्रमुखले दिएको समयसिमा सकिएपछि तीन वटा दलका संसदीय दलका नेताहरुले संयुक्त रुपमा प्रदेश प्रमुखलाई पत्र लेखेर एक हप्ताको समयसिमा बढाईदिन आग्रह गरेका छन् । नेपाली काँग्रृका संदसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा एमालेका सरोककुमार यादव र नेपाली कम्प्युनिष्ट पार्टीका संसदीय दलका नेता युवराज भट्टराईले संयुक्त रुपमा समयसिमा थप गर्न आग्रह गरेका हुन ।

Leave a review