सुजित मेमोरियल टी-२० को उपाधि कलैया वडा नं. १२ लाई

संदिप प्रसाद यादव
105 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कलैया उपमहानगरपालिका वडा नं. १२ ले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा वडा नं. १२ ले वडा नं. ६ लाई १ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ६ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। वडा नं. ६ का महम्मद समिमले २१ बलमा २९ रन, किसन गुप्ताले २६ रन र अफसरले १९ रनको योगदान दिएका थिए।

१४८ रनको लक्ष्यलाई पछ्याउँदै वडा नं. १२ ले १९.४ ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएर विजयी भएको हो। वडा नं. १२ का रोशन यादवले २८ बलमा ३५ रन, कलाम अंसारीले ९ बलमा २७ रन र जाहिर हवारीले ११ बलमा १९ रनको योगदान दिएका थिए।

आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार फाइनल खेलमा कलैया वडा नं. १२ का अवधेश यादव म्यान अफ द म्याच घोषित भएका छन्। त्यसैगरी, प्रतियोगिताको प्लेयर अफ द सिरिज कलैया वडा नं. ७ का आदित्य थापा घोषित भएका छन्। त्यसैगरी बेस्ट ब्याट्सम्यान कलैया वडा नं. ४ का सानु कुमार थापा र बेस्ट बलर कलैया वडा नं. ७ का आदित्य थापा घोषित भएका छन्।

प्रतियोगिताको विजेता कलैया वडा नं. १२ को टोलीलाई प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उमाशंकर रौनियारले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरेका छन् ।

त्यसैगरी, उपविजेता वडा नं. ६ को टोलीलाई बारा निर्वाचन क्षेत्र नं. ३ (ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साह र जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरेका हुन् ।

स्वर्गीय सुजित पाण्डेका बुवा सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा कलैया–४ का वडाध्यक्ष रामेश्वर यादव, वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर, वडा नं. ८ का वडाध्यक्ष रञ्जित चौरसिया, वडा नं. १२ का वडाध्यक्ष लालबाबु मण्डल, माओवादी पार्टीका नेता मुकेश साहलगायत खेलाडी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Leave a review