कलैयामा मिठाई पसलका दुई कारखानामा संयुक्त अनुगमन टोलीको छड्के अनुगमन : सुदामा स्विट्सलाई २ लाख जरिवाना

संदिप प्रसाद यादव
268 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–१ स्थित मिठाई पसलका दुईवटा कारखानामा शुक्रबार संयुक्त अनुगमन टोलीले छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा सुदामा स्विट्समा विभिन्न कैफियत भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले सुदामा स्विट्सको कारखानामा अनुगमन गर्दा मिठाई खान अयोग्य रहेको, हाइड्रो प्रयोग गरिएको तथा कारखानाको सरसफाइमा ध्यान नदिएको पाइएपछि उक्त जरिवाना गरिएको हो।

वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट ढाँटी, लुकाई, छिपाई वा झुक्याई बिक्री तथा प्रदान गरेको कसुरमा उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो। साथै, फर्मका सम्पूर्ण कागजातसहित सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

साथै अनुगमन टोलीले कारखानाको सरसफाइमा विशेष ध्यान दिन, अखाद्य रंग प्रयोग नगर्न तथा कारखानामा कार्यरत सम्पूर्ण व्यक्तिको व्यक्तिगत सरसफाइ कायम गर्नसमेत निर्देशन दिएको छ।

त्यसैगरी कलैया -१ स्थित सिद्धार्थ स्विट्सको कारखानामा नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएपछि तीन दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन निर्देशन दिइएको छ।

उक्त संयुक्त अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका कार्यालय प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका सहायक निरीक्षक श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका श्रवणकुमार साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत सहभागीता थियोे ।

Leave a review