वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

काँग्रेसमा आन्तरिक सुशासन

– डा. शोभाकर पराजुली

के हो नेपाली काँग्रेस ? किन चाहियो नेपाली काँग्रेस ? के क्रान्तिको समयमा मात्र नेपाली काँग्रेस चाहिने हो ? के साइनो छ नेपाली काँग्रेस र गणतन्त्रबीच ? के कम्युनिष्ट घटकहरुले ल्याएको राजनैतिक समस्या र दक्षिणपन्थी पूर्व पञ्चहरुले पैदा गर्न चाहेको चरम संकट दुबैलाई सम्बोधन र समाधान गर्ने मध्यमार्ग हो नेपाली काँग्रेस ? नेपालको इतिहासमा नेतृत्वको असावधानीका कारणले जनताको हार भएको २०१७ को “कु’’ एउटा दुखान्त घटना थियो । यो घटना हुनुमा नेताहरुको ठूलो कमजोरी देखिन्छ । २००७ सालपछि नेपालको इतिहासको अध्ययन गर्ने हो भने विभिन्न पार्टीका नेता र दलहरुबीच आन्तरिक कलह नै हो । यो भनिराख्दा राजा महेन्द्रको तानाशाह बन्ने चरम महत्वाकांक्षाले समेत काम गरेको थियो । अहिलेको अवस्थामा मूलुकमा गणतन्त्र छ । तर दलहरुबीचको आन्तरिक उठापटक २००७ र २०१७ बीचकै अवधिको जस्तो छ ।

यस्तो संक्रमण अवधिमा नेपाली काँगे्रसले आफ्नो महाधिवेशन सम्पन्न गरेको छ । नेपालको अहिलेको संकटको सबैभन्दा उज्यालो पक्ष नै यही हो कि जनताहरु अब आफ्नो राजनीति बारे आफैं उत्रन थालेका छन् । महाधिवेशन एउटा लोकतान्त्रिक पार्टीका लागि सबैभन्दा तल्लो तहसम्म बसेका कार्यकर्ताहरुबीच सम्पर्क, संवाद, र सहकार्यकोे मौका हो । अहिले नेपाली काँग्रेसका प्रतिबद्ध र इमान्दार कार्यकर्ताहरु देश कस्तो चाहिएको छ त्यसै अनुसारको नेपाली काँग्रेस बनाउन संवादमुखी भएका छन् । यो बहस तल्लो तहमा जति गहिरो र गम्भीर रुपमा उठान भैराखेको छ त्यति माथिल्लो तहमा हुन सकिरहेको छै्रन । तल्लो तहमा जति व्यपकतामा उत्पीडित–अशिक्षित जनसाधारणबीच, छाप्रे र ढाक्रेहरुबीच पुग्छ, त्यति राम्रो त हुँदै हो तर यो माथिल्लो स्थितिमा पनि अनिवार्य रुपमा पुग्नैपर्छ । सबैभन्दा राम्रो कुरा नेपाली काँग्रेस अब यथास्थितिमा चल्न सक्दैन । परिवर्तन अपरिहार्य छ भनेर सबैले सहमत हुनुपर्ने परिस्थिति सिर्जना गरेको छ । नयाँ कुराको छलफल र सहमतिका निम्ति सबैको दिमाग उघारिदिएको छ ।

जब प्रत्येक राजनीतिक कार्यकर्ताले नेपाली काँग्रेसको भावी राजनीतिक, आन्तरिक लोकतन्त्र, शक्तिको बाँडफाँड र त्यो सुनिश्चित गर्ने प्रकृयाका सन्दर्भमा सडक चौतारा, मेलापात, पानीपँधेरामा बहस र छलफल गर्न शुरु गर्छन्, कार्यकर्ता स्वाभिमानी हुने प्रक्रिया र दलीय लोकतन्त्र बल्ल प्रारम्भ हुन्छ ।

नेपाली काँग्रेसभित्र राजनीतिक संकट निकै गहिरो, सघन र व्यापक छ । देशभित्र जुन प्रकारले संकटहरु छन्, राजनीतिक क्षेत्रदेखि लिएर आर्थिक र साँस्कृतिक क्षेत्रमा समेत संकटका संकेतहरु देखिएको तथ्य विदितै छ ।  निश्चित रुपमा काँग्रेसभित्रको संकटको छिनोफानो महाधिवेशनले तय गर्छ भन्ने थियो तर महाधिवेशन केवल आफूलाई संवैधानिक रुपमा अद्यावधिक गराउनमै सिमित भयो । जो जहाँ पाए उसले  असल र प्रतिवद्ध नेताहरुलाई सफाया गर्न चाहे । दलको आन्तरिक निर्वाचन असाध्यै खर्चिलो भयो । प्रत्येक स्तरमा वर्चश्वशालीहरु मुखर भएर आए, जसले आफ्नै वरिपरी हुक्के, ढोके, बैठके, चम्चे र भातेहरुको भीड लगाएर आन्तरिक लोकतन्त्रलाई लात हान्छ । नेपाली काँग्रेसभित्र विभिन्न तहमा यस्ता  पदाधिकारीहरुको कमी छैन जसले बीपी, गणेशमानका बारेमा अवगत होउन्, जसले नेपाली काँग्रेसको विधान पढेको होस् । छोटो बाटोबाट पार्टीमा स्थान ओगट्न पुगेकाहरुले अहिलेको टड्कारो सवालहरुसँग साक्षत् हुने कुरै भएन । यो संकटलाई महाधिवेशनपछिको काँग्रेसले कसरी व्यवस्थापन गर्छ ? समाजमा परिवर्तनको दिशाको निरुपण दलमा बलात कब्जा जमाएर बसेका र उच्च वर्गका हितहरुको सम्वद्र्धन एवं

प्रबद्र्धनमा लागेका राजनीतिक संरचनाहरुबाट होइन, इमान्दार कार्यकर्ताहरुका उदियमान भावनाहरुको भूमिकाबाट मात्र सम्भव छ । महाधिवेशन केवल नेता छनौट गर्ने अवसर मात्र होइन बरु बिचार प्रबद्र्धन गर्ने, विगतकाप्रति मन्थन गर्ने र आगतकाप्रति चिन्तन गर्ने मौका हो । यो सरल कुरालाई सहजतापूर्वक स्वीकार्न र प्रतिबद्ध कार्यकर्ताका संगठित शक्ति संरचनाहरुलाई मजबुत बनाउने काममा योगदान गर्न केन्द्रीय कार्यसमितिलाई केहीले नछेक्नुपर्ने हो ।

अहिलेको स्थितिमा सबै शक्तिहरुको मिलनबिन्दू भनेको नेपाली काँग्रेस नै हो । लोकतन्त्रलाई गति दिने नेपाली काँग्रेस बाहेक अर्को विकल्प देखिंदैन । मुलुकको समस्या समाधान गर्ने अरु कुनै दल राम्रो विकल्प छ, जसले जनताको अधिकार अरु बढाउँछ र लोकतन्त्रलाई व्यवस्थित गर्न सक्छ ? त्यस्ता विकल्पहरु छैनन् । नेपाली काँग्रेसले नै यस्ता उपायहरु पहिल्याउन सक्छ जसमा सबैको समझदारी रसहमति गराउन सकिन्छ । नेपाली काँग्रेसले अहिलेको संबिधानलाई मुच्र्छा लागेको अवस्थाबाट मुक्त गर्न सक्छ । यो मुलुकको विद्यमान राजनीतिक परिस्थितिमा समझदारीको एजेण्डा हुन सक्छ र सबै संविधान कार्यन्वयनको दिशामा काँगे्रसको नेतृत्वमा एकैठाउँमा आउनसक्छ । संविधान निर्माण प्रक्रिया र घोषणाकालको परिस्थितिजन्य कारणहरुले गर्दा मूच्र्छा पर्ने रोगबाट ग्रसित हुन पुगेको छ । सर्वोच्च अदालतबाट यसलाई बेलाबेलामा ब्यूँताउने यत्न गरिएपनि फेरी मूच्र्छा पर्ने सम्भावना रहिरहन्छ । यस्तो स्थिति नआओस् भन्नाका लागि यसको अति गहकिलो उपचार जरुरी छ । यो संविधानको गहकिलो उपचार भनेको सबै भूगोलका जनताले यसलाई स्वीकार गर्ने, तमाम मतान्तरका बावजुद पनि सबै राजनीतिक शक्तिहरुले संविधानलाई गतिशील दस्तावेजको रुपमा मान्न लगाउने नेतृत्वको आत्मविश्वास नेपाली काँग्रेसले मात्र प्रकट गर्न सक्छ । जनता र मुलुकको स्वतन्त्रतालाई खण्डित हुन दिदैनाँै भन्ने मान्यता जो नेपाली काँग्रेसको छ त्यस प्रति तीन कोटी नेपालीले भरोसा राख्न सक्छ । संविधान निर्माण र त्यसको कार्यन्वयनमा केही त्रुटी र कमजोरीहरु रहे जसले गर्दा कहिले लोकतन्त्रमाथि नै हमला भयो भने कहिले मुलुकको आन्तरिक एकतालाई खण्डित गर्ने प्रयत्न भयो । तर नेपाली काँग्रेसले सरकारको नेतृत्व सम्हालेका कारणले यो बढीभन्दा बढी जनताको स्वामित्व स्थापित गर्ने संविधान हो भन्ने मान्यता मुलुक भरी चलेकोछ ।

राजनीतिमा सामान्य ज्ञान राख्ने जोसुकैले पनि ठम्याउन सक्ने कुरा हो – डा. शेखर कोइराला काँग्रेसको सभापति पदका असफल प्रतिश्पर्धी हुन् तर उनी विधानतः निर्वाचित केन्द्रीय सदस्य हुन् । नेपाली काँग्रेसको विधान धेरै कुराहरुमा प्रष्ट छ । त्यही विधान अनुसार डा. कोइराला कसैको अनुकम्पामा नभइ विधानले दिएको प्रावधानका कारणले केन्द्रीय कार्यसमितिमा पुगेका हुन् । देशभित्रको संकट टाल्न काँग्रेसले आपूmभित्रको संकट र समस्यालाई कार्पेटमुनी राखेर हुँदैन । नेपाली काँग्रेसको विधानको दफा ६५ मा उल्लेख छ “पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढीमत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’’ यो दफाले निकटतम प्रतिश्पर्धीको योग्यता र क्षमताको कदर गर्नुपने मान्यतालाई स्थापित गरेको छ ।

१४औं महाधिवेशनबाट शक्तिशाली नेताका रुपमा उदाउनु भएका सभापति शेरबहादुर देउवाले निकै घतलाग्दो कुरा भन्नु भएको छ कि “महाधिवेशनपछि म सबैको सभापति हुँ ।’’ उहाँको यो आसयले नेपाली काँग्रेसको भावी दिशा निर्धारण गर्नमा डा. शेखर कोइरालाको भूमिकाको कदर गरिनुपर्छ । त्यो भनेको नेपाली काँग्रेसको विधानको निशर्त पालना हो । मुख्यकुरा पार्टी सभापतिको बचनको सख्त पालना हुनुपर्छ । उनका नीति र व्यवहारहरु पूर्वानुमान योग्य हुनुपर्छ ।

महाधिवेशनको क्रममा देखिएको तुष मेट्ने जिम्मेवारी र उदारता पार्टी नेतृत्वको हो । समझदारीको प्रत्येक प्रयत्नलाई लत्याउने र धोखा दिने काम भयो भने यसले विजेता नेतृत्वले दल कब्जा गर्न खोजेको प्रष्टिन्छ । यो संकटलाई जति बढी लम्ब्यायो काँग्रेसको आन्तरिक संरचना उतिनै तवाह हुने निश्चितप्रायः छ । पार्टी नेतृत्वले आफ्नो क्षमता र सामथ्र्यमा आत्मविश्वास राख्न सक्नुपर्छ, जसको आफ्नो क्षमता र सामथ्र्यमा विश्वास हुँदैन, त्यो त प्रतिश्पर्धाको राजनीतिबाट बाहिरिन्छ नै र साथै काँग्रेसको गौरवशाली इतिहासबाट पनि बाहिरिन्छ । जहाँसम्म भविष्यको राजनीतिमा को हावी हुन्छ भन्ने प्रश्न छ, त्यो त त्यतिबेला काँग्रेसभित्र कार्यकर्तामूखी र जनआधारित राजनीति कसले गर्ला,  कसले बचन र व्यवहारबाट कार्यकर्ताहरुको समर्थन ज्यादा हासिल गर्दछ भन्ने कुरासँग गाँसिएको छ ।­­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!