हावाहुरीका बेला चुँडिएका तार नछुन नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको चेतावनी

साझेदारी डेलि
78 पाठक संख्या

कलैया । बदलिँदो मौसमसँगै बढ्दो हावाहुरी, आगलागी र चट्याङका घटनाले विद्युत वितरण प्रणालीमा चुनौती थपिएको भन्दै नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

केन्द्रले जारी गरेको सार्वजनिक अपीलमा संवेदनशील अवस्थामा पनि निरन्तर विद्युत सेवा सुचारु राख्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्भावित जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि उपभोक्तालाई विभिन्न सावधानी अपनाउन अनुरोध गरेको हो।

अपीलमा विद्युतीय संरचना (पोल, ट्रान्सफर्मर, स्टे–वायर) नजिक फोहोर वा झारपात नजलाउन भनिएको छ। जङ्गल वा घर वरपर लाग्ने डढेलोले विद्युत आपूर्ति अवरुद्ध पार्नुका साथै ठूलो दुर्घटना निम्त्याउन सक्ने जोखिम औँल्याइएको छ। त्यस्तै, हावाहुरीका कारण चुँडिएका तार वा ढलेका पोल नछुन र त्यस्ता घटनाको तुरुन्त नजिकको नो–लाइट कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ। चट्याङ परेको समयमा टेलिभिजन, फ्रिज, कम्प्युटरजस्ता संवेदनशील उपकरणहरूको प्लग निकालेर राख्न सुझाव दिइएको छ, जसले उपकरणलाई क्षति हुनबाट जोगाउन मद्दत गर्दछ।

विद्युत लाइन नजिक रहेका रुखका हाँगाबिगाले सर्ट सर्किट भई आगलागी हुन सक्ने भएकाले यस्ता जोखिम देखिएमा तत्काल प्राधिकरणलाई जानकारी गराउन र लाइन वरपर रुखविरुवा नबढ्न दिन पनि आग्रह गरिएको छ।

प्राविधिक कारणले विद्युत सेवा अवरुद्ध भएमा केही समय धैर्य राख्न र मर्मत कार्यमा खटिएका कर्मचारीलाई सहयोग गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

कलैया वितरण केन्द्रले प्राकृतिक विपद्का बेला सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै उपभोक्तालाई सजग रहन आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds