Sajhedari Daily
Latest News from Nepal

जापानबाट सिक्न सकिने संस्कार र पद्धति                                    

Top Aside Banner

–नविन लामा

जापान क्षेत्रफलमा नेपाल भन्दा करिव २.५ गुणा मात्र ठुलो मुलुक भएता पनि कुल ग्राहस्थ उत्पादन (जिडिपी) को हिसाबमा विश्वकै तेश्रो ठूलो मुलुक हो ।जापानको कुल भूभागको करिब ६६ प्रतिशत पहाड रहेको छ। जापान राजतन्त्रात्मक एकात्मक शासन प्रणाली भएको मुलुक हो। जापानको ऐतिहासिक कालखण्डको सबैभन्दा महत्वपुर्ण खण्डको रुपमा भने इडो काल (1603-1868),  मेजी काल (1868-1912), सोभाकाल (1912-1945) र विश्वयुद्धपछिको समय (1945 देखि हाल सम्म) लाई लिन सकिन्छ। इदो कालमामा बिशेषत बर्गीय सामाजिक व्यवस्था कायम थियो । जसमा शासन सञ्चालन गर्ने सैनिक, कृषक, शिल्पकार तथा व्यापारी गरी चार प्रकारका बर्गमा समाजलाई विभाजन गरिएको थियो।इदो कालमा भएको समाजिक असमानता तथा विभेदलाई अन्त्य गरी बर्गविहिन समाजको निर्माण गर्दै मेजी बंशजका राजाले जापानलाई आर्थिक, सामाजिक, पुर्वाधार, शैक्षिक, सास्कृतिक लगायतको विकास गरेका थिए। मेजी काललाई जापानको विकासको स्वर्ण युग मानिन्छ।

जापानको इतिहासमा प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धको अलावा चीन तथा रुससँग पनि विभिन्न चरणमा युद्धहरु भएका थिए। तथापी दोश्रो विश्वयुद्धमा अमेरिकाद्वारा खसालिएको एटम बमबाट हिरोसिमा र नागासाकीमा करिव २ लाख मानिसहरुको ज्यान गएको थियो। दोश्रो विश्वयुद्ध पश्चात जापानले सैन्य सुदृढीकरण नगरी आर्थिक, प्रविधि तथा पुर्वाधार विकासमा निकै फड्को मारेको कुरा हामी सबैलाई अवगत नै छ।

जापानमा दोश्रो विश्वयुद्ध भन्दा पहिला आर्थिक विकास खासै भएको थिएन। यधपि ठुला कलकारखाना भने थिए। जापानको विकासमा प्रमुख भूमिका भनेको यहाको पद्धति तथा संस्कार नै हो। जापानको विकासको मुल शुत्र नै गुणस्तरीय काम तथा कामलाई गरिने सम्मान नै हो। जापानबाट सिक्न सकिने केही कुराहरु छन जुन यहाँ प्रस्तुत गर्न चाहान्छु।

१) कडा कानुनः जापानमा नागरिकहरुलाई कानुन बमोजिम पुर्ण स्वतन्त्रता छ। तथापी जापानीज कानुनलाई कडा नै मानिन्छ।  जस्तै मादक पद्धार्थ सेवन गर्न छुट छ। तर मापसे गरेर सवारी चलाउनेलाई जीबन भर चालक अनुमति प्रमाणपत्र खारेज गरी कम्पनीबाट सधैंको लागी निष्कासन गरिनेछ। नेपालबाट मासु लिएर जापानमा प्रवेश हुदा अध्यागमन अधिकृतले एयरपोर्टबाट सपरिवार जापानबाट देश निकाला गरी नेपालमा नै पठाएको थियो।

२) काम प्रतिको सम्मान गर्ने संस्कारः  जापानमा कामलाई सानो ठुलो भनिदैन। काम गर्ने ठाँउमा आफ्ना श्रमिकसँगै म्यानेजरहरु पनि काम गर्छन। यहाँ काम यसो गर उसो गर भनि निर्देशन दिनु भन्दा पनि म्यानेजर आफै सँगै काम गर्छन। जापानमा कामलाई सानो ठुलो भन्दा पनि शारीरिक परिश्रम धेरै वा कम लाग्ने गरि बिभाजन गरिन्छ। सबै प्रकारको पार्टटाइम काममा औषतमा घण्टाको जापानिज येन १००० देखि १२०० सम्मको ज्याला दिइन्छ। राती गर्नु पर्ने तथा धेरै शारीरिक बल पर्ने काममा भने अलि बढि नै ज्याला दिइन्छ। जापानमा कपाल काट्ने काम पनि जापानिज ले नै गर्दछन।

३) सफा तथा स्वच्छ वातावरणः जापानलाई विश्वकै सफा मुलुकको रुपमा लिइन्छ। उच्च औद्योगिक कलकारखाना भएपनि वातावरण प्रदुषण देखिदैन। यहाँ पहिलो त कसैले पनि वाहिर फोहोर गरेको देखिदैन। फोहोर गरिएमा पनि कडा जरिवाना रहेको छ। दैनिक फोहोरलाई  Burnable र Unburnable गरी छुट्याएको छ। दिन विराएर फोहोर लिन आउछ। त्यो बाहेक ठुला ठुला पुराना सामान फाल्न परे नगरपालिकामा गएर निबेदन दिनु पर्नेछ। निश्चित रकम तिरेर मात्र फोहोर फाल्न पाइन्छ। बिद्यालयमा सफा गर्ने मानिस हुदैन । विद्यार्थीहरुले आफैले कक्षा कोठा सफा गर्नु पर्छ। हरेक वडामा एउटा पार्क र खेल मैदान हुन्छ। पार्कमा बच्चाहरुलाई खेल्ने सामाग्री राखिएको हुन्छ भने भूकम्प गएमा सुरक्षित बस्न समेत सकिने व्यवस्था गरिएको हुन्छ।

४) सार्वजनिक सेवा प्रवाहः जापानमा सूचना प्रविधिको प्रयोग अधिकत भए पनि सूचना प्रविधिसँगै कागजी प्रकृयाहरु पनि अवलम्बन गरिदैछ। जापानमा वडा कार्यालयलाई सिटि अफिस भनिन्छ। सिटि अफिसमा एक जना सेवा ग्राहीलाई एकै जना कर्मचारीले काम नसकेसम्म सबै प्रकिया पुरा गरिदिन्छन। भ्रमण भिसा बाहेकका सबै जापानमा बस्ने व्यक्तिहरुले सिटि अफिसमा अनिवार्य रुपमा रेकर्ड राख्नु पर्दछ। हरेक व्यक्तिको रेजिडेन्ट कार्ड हुन्छ।

बिदेशी नागरिकले रेजिडेन्ट कार्ड २४ सै घण्टा बोक्नु पर्छ। यदि प्रहरीबाट कुनै बेला सङ्का भई जाँच भएमा रेजिडेन्ट कार्ड देखाउन नसकिएमा भारी जरिवाना तिर्नु पर्ने हुन्छ। ठेगाना परिवर्तन भएको दुई हप्ता भित्र विवरण सिटिअफिसमा अध्यावधिक गर्नु पर्छ। सिटि अफिसबाट प्राप्त गर्ने हरेक सेवासुविधाको लागी रिसेडेन्ट कार्ड चाहिन्छ। यहाँ कर्मचारीको मुल्याकंन ३६० डिग्रीमा गरिन्छ।

यसको अर्थ आफ्नो सिनियर र जुनियर तथा सँगैको लेभलको साथीहरुले आफ्नो मुल्यांकन गरिन्छ। आफ्नो जुनियर कर्मचारीहरुबाट पनि सिनियरले सिक्ने गर्दछ। जापानको सडकमा उच्च सवारी चाप देखिन्छ। तथापी सडकमा अहिले सम्म ट्राफिक प्रहरी त के कुनै पनि प्रहरी देखिदैन।

सबैले ट्राफिक सिग्नलको प्रयोग गर्छन। सडकमा जताभावी बाटो काट्दैनन। जापानमा बसोबास गर्ने जापानिज वा गैरजापानिज सबैको बालबालिकाको लागी आमाबुबाको आम्दानी, परिवारमा बालबालिकाको संख्या तथा बालबालिकाको उमेर अनुसार १० देखि २० हजार सम्म भत्ता पाउदछ।

५) सडक तथा यातायातः जापानमा यातायातको साधनहरुमा मेट्रो ट्रेन, फास्ट ट्रेन, बस, ट्याक्सी तथा साइकलहरुको नै प्रयोग हुन्छ। प्राय हरेक जापानीजहरुको नीजि कार रहेको देखिन्छ। तथापी जापानीजहरु स्कुल, अफिसमा जाँदा मेट्रो ट्रेनको नै अधिक प्रयोग गर्दछन। सबै भन्दा लोकप्रिय मेट्रो ने देखिन्छ।

जापानमा मोटरसाईकल ज्यादै न्यून रहेको छ। साइकलको लागी छुट्टै ट्याक रहेको छ। हरेक साइकल को नम्बर हुन्छ। मापसे गरेर साइकल पनि चलाउन पाइदैन। दृष्टिविहिनका लागी हिडडुल गर्न सडकको पेटिमा बिशेष खालको ट्राय बनाइएको छ। यातायातका साधनहरु प्राय नीजि कम्पनीहरु नै देखिन्छ। यधपि यात्रु नभए पनि बस तथा रेल सेवा अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने हुन्छ।

गुगल म्यापको सहायताबाट कुनै पनि एक ठाउँबाट अर्को ठाउँमा कति बजे ट्रेन आउने सबै विवरण प्राप्त गर्न सकिन्छ। सडकहरु ठुला र फराकिला छन। टोकियो तथा ठुला सडकहरुमा ट्राफिक जाम केहि हद सम्म त देखियो। यहाँ चुरे पहाड जस्ता साना साना पहाडहरु उत्तर देखि दक्षिणसम्म नै फैलिएर छन। पहाडमा सबै सुरुङ मार्गहरु बनाइन्छ। मानिसहरुको बसोबास भने पहाडको फेदीमा नै दिखियो। पहाडमा खेतीपाति तथा बसोबास गर्न मनाही छ। यधपि हिउँ परेको बेलामा भने पहाडमा स्की खेलहरु हुने देखियो।

६) शान्ति सुरक्षाः जापान संसारकै सुरक्षित देशको रुपमा रहेकोछ। यहाँ आपाराधिक कृयाकलाप तथा सवारी दुर्घटना दर ज्यादै न्युन छ। दिन होस या रात कुनै पनि समय निर्धक्क हिड्न सकिन्छ। चोरी अपराध बलात्कार भन्ने शब्द जापानको शब्दकोषमा नै छैन कि जस्तो लाग्छ। अर्को महत्वपुर्ण कुरा बाटो, ट्रेन वा कहि कतै सामान छुटेको छ भने कसैले छुदैनन । प्रहरीेले पछि सम्पर्क गरी उपलब्ध गराउछ।

७) शिक्षाः जापानमा नर्सरीलाई कोदोमोइन भनिन्छ। हरेक वडामा जनघनत्व हेरी सरकारी कोदोमोइनहरु खोलिएका हुन्छन। कोदोमोइनमा २ बर्ष देखि ५ बर्षसम्मका बालबालिकाहरुको भर्ना हुन्छ। गज्जबको कुरा के छ भने आफ्ना छोरा छोरीलाई विद्यालयमा भर्ना गराउनु छ भने विद्यालय जानु पर्दैन। सिटिअफिस (वडा कार्यालय) मा गएर निबेदन दिनु पर्छ। सिटिअफिसले नै सम्पुर्ण क्राइटएरिया हेरेर कुन विद्यालयमा भर्ना हुने हो सबै व्यवस्था मिलाउछ।

नर्सरीमा बालबालिकाहरुले साथीहरुसँग खेल्ने, जापानिज भाषा लेख्न, पौडि खेल्न, नाच्ने, गीत गाउने, चित्रकला तथा बिभिन्न खेलहरु मात्र सिकाइन्छ। उमेर ६ बर्ष भैसकेपछि अनिवार्य रुपमा इलिमेन्टरी (आधारभुत) स्कुलमा बच्चाहरु जाने गर्दछ। इलिमेन्टरी स्कुलमा बच्चाहरुलाई जापानीज भाषा, गणित, बिज्ञान, इतिहास, खाना पकाउने, संगीत, खेल, सुचना प्रविधि, अर्थशास्त्र बिषयहरुको अध्यापन गराइन्छ।

विद्यार्थीहरुलाई कथा, खेल, नाटक, आदिको माध्यमबाट नैतिकताको ज्ञान दिइन्छ भने बिद्यालयमा आफ्नो कक्षा कोठाहरु बिद्यार्थी आफैले सफा गर्नु पर्दछ। विद्यालयमा कोठा सफा गर्ने मानिस हुदैन। कोदोमोइन (नर्सरी) तथा इलिमेन्टरी स्कुलमा विद्यार्थीहरुलाई खानाको व्यवस्था गरिएको हुन्छ। छात्राहरुले कपाल निधार भन्दा तलसम्म छाड्न पाइदैन र मोबाइल पुर्ण प्रतिबन्धित रहेको छ।

त्यस्तै गरी छात्रहरुले अनिवार्य टोपी लगाउनु पर्दछ। जापानिजहरु गणितमा उत्कृट रहेको देखियो। इलिमेन्टरी स्कुलमा बिद्यार्थीहरु अनिवार्य रुपमा हिडेर नै आउनु पर्छ। अभिभावकले कार अथवा मोटरसाईकलमा ल्याउन मनाही छ।हरेक टोलका ठुला विद्यार्थीलाई मोनिटर बनाइन्छ। उसले सबै साना विद्यार्थीलाई घरसम्म पुर्याउनु पर्ने हुन्छ।

यसरी विद्यार्थीहरुलाई सानै उमेर देखि जिम्मेवारी बनाइन्छ। त्यस्तै गरी हरेक विद्यार्थीको घरमा बर्षमा दुई पटक शिक्षक जानु पर्ने व्यवस्था रहेको छ। अभिभावकलाई भेटेर विद्यार्थीको शिक्षण सिकाईको बारेमा छलफल गर्नु पर्दछ। यदि विद्यार्थीको सिकाईमा कुनै समस्या भएमा शिक्षकले अभिभावकलाई पटक पटक भेट्न आउने गर्दछ।

८) जापानिसहरुको स्वभावः जापानिजहरु कम बोल्ने स्वभावका हुन्छन। कोही कसैसँग काम परेमात्र बोल्ने हो। मेट्रो ट्रेनमा खचाखच भिड हुदा पनि आवाज चुइक्क निस्किदैन। सबै मोबाइलमा व्यस्त देखिन्छन। बस तथा मेट्रोमा मोबाइलमा कुरा गर्न मनाही छ। कसैले कसैलाई झुक्केर पनि छुदैनन।

कसैलाई छुन थालेमा सरी मार्फत गर्नुस (गोमेन्नासाई) भनि ३ देखि ४ पटकसम्म शिर झुकाएर माफ मागेको मागेकै गर्छन। प्राय जापानिजहरु फुर्सदिलो देखिदैन। फुर्सद भएपनि कोहि सँग बोल्दैनन। जापानिजहरु कसैलाई नराम्रा भन्दैनन। केही सुझाब दिनु पर्यो पनि पहिला सकारात्मक कुराबाट सुरु गरे पछि यधपि यस्तो गर्दा झन राम्रो भन्ने गर्छन। त्यस्तै जापानिजहरुले हरेक क्षणमा आफ्ना कारणले अरुलाई दुख नहोस भन्ने गर्दछ। कुनै ठाउँमा लाइन बस्न परेमा अरुलाई अगाडि जानुस भन्छन। यहाँ गुड गर्ने चलन छैन।

९) स्वास्थ्य सेवाः जापानमा बसोबास गर्ने सबै स्वदेशी तथा विदेशीले अनिवार्य स्वास्थ्य विमा गर्नु पर्दछ। स्वास्थ्य विमाबाट ७० प्रतिशत खर्च व्यहोरिनेछ भने व्यक्तिले ३० प्रतिशत व्यहोर्नु पर्दछ। जापानमा कुनै पनि डाक्टरको सल्लाह बिना औषधि पसलबाट औषधि किन्न पाउदैन।

१०) कृषिः यहाँ आधुनिक कृषि प्रविधको प्रयोग गरिएको पाइन्छ। बिदेशी कृषि उपजमा करिब ८०० प्रतिशत भन्सार कर लाग्नेछ। यसबाट स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्नेछ। त्यस्तै जापान भरीको कृषि उत्पादन तथा बजारीकरण गर्नको लागी जापानिज एग्रिकल्चर भन्ने सहकारी संस्था रहेको छ।

उत्पादन तथा बजारीकरण सम्बन्धी सम्पुर्ण सप्लाई चेनको व्यवस्थापन यही सहकारीले गर्नुका अलावा किसानहरुको लागी आवश्यक पर्ने बिउ, बिजन, मल, खाद्य , कृषि विमा तथा सबै सुबिधा दिइन्छ। किसानहरुलाई चाहिने हरेक कृषि उपकरणहरु यस सहकारीबाट भाडामा प्रयोग गर्न सकिन्छ। यस सहकारी संस्थाले कृषकहरुलाई प्राविधिक सहयोग तथा ऋणको समेत व्यवस्था गरिदिन्छ। किसानको काम उत्पादन गर्नु मात्र हो। किसानहरुको सहकारी भएको कारणले गर्दा लागत बमोजिमको मुल्यांकन पाउने व्यवस्था गरिएको छ।

११) समय पालनाः(Punctuality) जापानको सबै भन्दा लोभलाग्दो पक्ष भनेको समयको पालना नै हो। हरेक मान्छे कुनै पनि कार्यक्रममा ३० सेकेण्ड पनि ढिलो हुदैनन। जापानको कुनै पनि बस तथा ट्रेन १० सेकेन्ड पनि ढिलो हुदैन । क्याम्पसमा १ सेकेन्ड पनि ढिलो नगरी कक्षा सुरु हुन्छ।

टोकियोमा बुलेट ट्रेनको सफाई ७ मिनेटमा गर्नु पर्ने प्रावधान छ। ७ मिनेटमा सफा नगरे कर्मचारीले काम छोड्नु पर्ने वा सेवा सुविधा कम पाउने व्यवस्था छ। समय पालना नगर्ने मानिसलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। जापानमा तोकिएको समय भन्दा ५ मिनेट अगावै पुग्नु पर्ने मान्यता रहेको छ।

१२) भेन्डिङ मेसिनः जापानका हरेक चोक तथा सडक तिर जताततै चिसो पद्धार्थ, कोकाकोला, जुस, पानी, कफी ,चिया आदिको स्वचालित भेन्डिङ मेशिन रहेको छ। तोकिए बमोजिमको पैसा मेशिनमा राखि आफैले निकाली जतिखेर पनि पिउन तथा खान सकिन्छ। त्यस्तै जापानमा धेरै बैंकहरुको फिजिकल शाखा बिना नै काम भएको देखिन्छ। बैंकहरुले पायक पर्ने स्थानमा एटिएम मेशिन राखेको हुन्छ। सो मेशिनबाट पैसा जम्मा गर्न र झिक्न पनि सकिन्छ। बैंकको वेवसाइटबाट फर्म भरी बैंक खाता खोल्न सकिन्छ। बैंकले हुलाक मार्फट एटिएम कार्ड पठाउदछ।

१३) निर्वाचनः जापानमा निर्वाचनको बेला पनि जापानिजहरुलाई फुर्सद हुदैन। जापानमा चुनाबको प्रचार प्रसार खासै हुदैन । कुनै चोकमा उम्मेदवारले आफ्ना घोषणापत्रहरुको बारेमा माइकिङ गर्छन। उसँग कार्यकर्ता पनि हुदैन। कोहि पनि कार्यकर्ताहरु उम्मेदवारको अघि पछि हिँड्दैन।

१४) हुलाक सेवाः जापानको हुलाकको त जति प्रशंसा गरे पनि कम नै छ। यहाँ हुलाकले पत्राचार गर्नुको साथै कुरियर, ट्रान्सपोर्टका काम, बिजुली, टेलिफोन, इन्सुरेन्स, लगायतको बिलहरु हुलाक मार्फत नै आउँछन । त्यस्तै हुलाकले जीबन बिमा, रेमिटान्स सेवा तथा हुलाक बैंक सञ्चालन गरेको छ जुन प्राइभेट बैंक भन्दा पनि राम्रो र भरपर्दो रहेको छ। हरेक घरको हरेक कोठाको एउटा एउटा हुलाक बक्स घरको तल राखिएको हुन्छ। नीजि तथा सरकारी सूचनाहरु विद्यालयको बिलहरु पनि हुलाकबाट नै आउछ। हुलाकीले सो हुलाक बक्समा राखि जाने गर्दछ। गोप्य पत्रहरु भने भेटेर नै दिने गर्दछ। यदि हुलाकीले नभेटेमा एउटा पत्र छाडेको हुन्छ र सो पत्र लिएर हुलाक कार्यालयमा जानु पर्दछ।

१५) नीजि सेवाहरुः नीजि कम्पनीहरुबाट सेवा लिनु परेमा वेवसाइटबाट फर्महरु भरी अर्डर गर्न सकिन्छ। जस्तै कुनै सिमकार्ड खरिद गर्नु परेमा वेवसाइटबाट फर्म भरी हुलाकबाट सिमकार्ड लिन सकिन्छ। त्यस्तै जापानमा अनलाईन सपिङ्गको प्रावधान राम्रो छ।

१६) खानपानः जापानमा मानिसहरु यति धेरै ब्यस्त हुन्छन कि घरमा कसैले पनि खाना बनाउदैन। जापानमा रेष्टुरेन्टका अलवा साना साना मिनिमार्ट फ्यामिलिमार्ट सुपरमार्केटहरुमा पनि प्याकेजिङ खाना पाइन्छ जसलाई बेन्तो भनिन्छ। लागतको हिसाबले जापानमा घरमा खाना बनाउनु भन्दा खाना किनेर खानु नै सस्तो पर्छ।

जापानमा अल्कोहल सेवनलाई जापानिज संस्कृतिको रुपमा लिइन्छ। जापानिजहरुले अधिकतम सिफुडहरु खाने गर्दछन भने प्राय सबै प्रकारको माछा मासुको परिकार खाने गर्दछन। हरेक नयाँ बर्षको १ हप्ता जापान भरी बिदा हुन्छ। सो समयमा परिवारजनसँग रमाइलो भेटघाट गर्ने गर्दछन।

१७) समस्या तथा चुनौनीः जापानिजहरुको औषत आयु ८५ बर्ष रहेकोछ जुन हङकङ पछि जापान नै बिश्वमा दोश्रो स्थानमा रहेको छ । जापानको करिब १३ करोड जनसंख्या मध्येमा करिब ३० प्रतिशत मानिसहरु ७० बर्ष उमेर नाघेका छन। जेष्ठ नागरिकको संख्या उच्च हुनु तथा जनसंख्या बृद्धिदर ऋणात्मक हुने नै यहाँको प्रमुख समस्या रहेको छ। आर्थिक विकासका लागी चाहिने मानव संसाधनको कमि भएका कारण यहाँ एसियाका विभिन्न मुलुकबाट रोजगारीको लागी ल्याउन थालिएको छ। (लेखक नेपाल सरकारका शाखा अधिकृत हाल जापानमा छात्रबृत्तिमा अध्ययनरत छन। )