स्थानीय तहले चालु र्आिर्थक वर्षको असार १० गते भित्र आ–आफ्नो तहको पालिका वा नगर सभा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक व्यवस्थाभित्र बाराको २ उपमहानगरपालिका मध्ये एक जीतपुरसिमरा उपमहानगरपालिकाले समयमा सिमा भित्र नगरसभा गर्न सकेको छैन । उपमहानपालिकाले नगरसभा गर्न नसक्दा केन्द्रले पठाउने बजेटमा कटौती हुनेमा नगरवासी चिन्तित् रहेका छन् ।
नगर प्रमुख (मेयर) डा. कृष्ण पौडेलको एकलौटी र मनोमानी ढंगले चल्ने प्रवृतीका कारण अनि भ्रष्टाचार गरेको बिल भौचर देखाउन नसक्दा समयमा नगरसभा हुन नसकेको नगरका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् ।
चालु आर्थिक वर्षको जेष्ठ १५ गतेदेखी वडा स्तरीय बजेटको सिलिङ्ग लगायत बजेटमा चाहिने अन्य पूर्वाधारको विषयमा छलफल चलाई असार १० गते भित्र नगरसभा गरी निती तथा कार्यक्रम सहित बजेट विनियोजन गरी सक्नुपर्ने भए पनि नगरप्रमु्ख पौडेल घरमा सुतेर दिन बिताईरहेको वडा नं. १७ का वडाध्यक्ष नवराज खड्काको आरोप रहेको छ । वडाध्यक्षका अनुसार जेष्ठ १० गतेदेखि नै नगरसभा गर्न जुटौं, छलफल चलाऔं भन्दा भन्दै पनि प्रमुख पौडेलले नमानेको साझेदारीलाई बताए ।
नगर सभाबाट पारीत भएको कार्यक्रमहरु र बजेटको अभिलेखीकरण गर्न रातो किताबमा प्रकाशन गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि चालु आर्थिक वर्ष सकिनै लाग्दा समेत सो प्रकाशन नगरेको बुझिएको छ ।
अध्यक्ष खड्काका अनुसार चालु आर्थिक वर्षको बजेटमा ठूलै भ्रष्टाचार भएको र त्यो लुकाउन मेयर साहबले हामीलाई रातो किताब नदिएको उनको आरोप रहेको छ ।
चालु आर्थिक वर्षको हिसाब किताब सही ढंङ्गले नदेखाउने हो भने मेयरका विरुद्ध सम्पूर्ण नगरवासीलाई सडकमा उतार्ने समेत वडा अध्यक्षले चेतावनी दिएका छन । नेकपाबाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष राम प्रसाद लामीछानेका अनुसार रातो किताब पटक पटक माग्दा आफूहरुले नपाएको गुनासो साझेदारीलाई गरेका छन । नगरसभा नहुनुमा पनि प्रमुख जिम्मेवार पौडेल नै रहेको वडाअध्यक्ष लमिछानेले बताए ।
मुलुकमा संघीय शासन व्यवस्था शुरु भई कार्यान्वयन भए यता विकेन्द्रिकरणको शुरुवात भएपनि प्रमुख पौडेलको केन्द्रिकृत मानसिकताका कारण समयमा नगर सभा हुन नसकेको र वडालाई दिईने बजेटमा गतवर्ष भन्दा कम रकम विनियोजन गर्न लागेपछि त्यसमा आफूहरुको आपत्ति रहेको अर्का २१ नम्बरका वडा अध्यक्ष कृष्ण शाही ठकुरीले साझेदारीलाई बताए । यता वडा नम्बर १४ का अध्यक्ष रामसरण बरतौलाका अनुसार नगरप्रमुख पौडेलको कार्यशैलीका कारण उपमहानगरपालिका बदनामि तिर गएको आरोप लगाएका छन ।
पटक पटक बोली फेर्ने प्रमुखका बानीका कारण समयमा नगरसभा हुन नसकेको र यसको सम्पूर्ण जिम्मेवारी पनि प्रमुख पौडेल नै हुने वडा नम्बर ७ वडा अध्यक्ष रामबाबु गुप्ता बताउछन ।प्रमुख पौडेलको भ्रष्टचार जन्य नियत रहेको र नगरसभा गर्न आनाकानी गर्नाले नगरसभा हुन नसकेको ६ नम्बर वडाअध्यक्ष कैमुदीन अंसारीको आरोप छ ।
चालु आथिक वर्ष भन्दा आउँदो आर्थिक वर्षको बजेटमा संघीय सरकार र प्रदेश सरकारले बजेट विनियोजन गर्दा यो उपमहानगरपालिकामा बढाएरै बजेट विनियोजन गरेतापनि मेयर पौडेले वडामा पठाईने बजेटको शिलिङ्गमा कम गरेको कारण विवाद भएको वडाअध्यक्षहरुको दावी रहेको छ ।
२४ वटा वडा रहेको उपमहानगरपालिकामा ३४ जना कार्यपालिका सदस्य रहेकोमा अधिकांश सदस्यहरुले प्रमुख (मेयर) पौडेलकै कारण समयमा नगरसभा हुन नसकेको आरोप लगाई रहँदा मेयर पौडेलले भने गृहकार्य नपुगेको कारण नगर सभा हुन नसकेको भन्दै पन्छिएका छन ।