बारा र पर्सा सहित मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा किसानहरु अहिले धानाबाली भित्राउनमा ब्यस्त देखिएका छन् ।
दशैं,तिहार तथा छठपर्ब लगायतका चाडपर्बहरु सकिएसंगै किसानहरु अहिले धान खेती गर्न भ्याई नभ्याई व्यस्त भएका हुन् । खेतमा पाकेको धान भित्राउनमा उनीहरु ब्यस्त भएका हुन् ।
बारा, पर्सा जिल्ला भरिकै किसानहरु बिहानदेखि बेलुका सम्म खेतमै भटिने गरेका हुन् ।धान पाकिसकेका कारण काटेर दाई गर्ने तथा घरमा भित्राउनको लागि किसानहरु लागि परेका छन् ।
यस बर्ष पनि सोना मन्सुली धान बारा तथा पर्सामा सबैभन्दा बढी लगाइएको छ ।यस्तै स्वर्ण सब १,मोटरी र बासमती लगायतका धानहरु पनि यसपालि किसानहरुले लगाएका हुन् ।
बाराका १६ वटा रपर्साको १४ वटै स्थानीय तहहरुमा रहेका किसानहरु धान कटाई गर्ने,दाई गर्ने र घरमा ल्याउने काममा ब्यस्त भएको पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का किसान जगत पन्जियारले जानकारी दिए ।
किसानहरु धान काटेर गँहु रोपाईको लागि खेत तयार गर्नुपर्ने तथा मिहेनतले उब्जाएको धानलाई घरमा ल्याएर सुरक्षित पार्ने कार्यमा लागेको किसान हकहित संघर्ष समितिका अध्यक्ष सहरुम गदीले जानकारी दिए ।
उनले मलखादको अभाव तथा यसपालि पानी समेत कम परेको भएपनि औसत रुपमै उत्पादन भएको छ । धान बालीलाई किसानहरु भित्राउन लागि परेको बताए ।
चाडपर्ब सकिएसँगै किसानहरुले धमाधम धान कटाईमा लागेको तथा किसानहरुले अहिले आधुनिक प्रबिधीले धान कटाई र दाई गर्ने गरेका छन् ।
पहिलेको तुलनामा अहिले गाउँघरमा खेतमा काम गर्ने मानिसहरु समेत नपाउने गरेकाले किसानहरु बताउँछन् ।
अहिले प्रायः कम्पाईन मेशिनले नै धानको कटाई गरी भित्राउने गरेका बारा जीतपुरसिमरा उपामहानगरपालिका वडा नम्बर १७ का किसान प्रशुराम दाहालको भनाई छ ।
बारा र पर्सा जिल्लालाई धान उत्पादन बढी हुने जिल्लाको रुपमा मानिन्छ । पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती हुदै आएको छ ।
तर,समयमा पानी नपर्नु,मलखादको अभाव लगायतको समस्याका कारणले धानको उत्पादनमा बृद्धि हुन सकेको छैन ।


