वीरगञ्ज महानगरपालिकामा भर्ना भएका स्वयमसेवक शिक्षकहरुलाई महानगरले हटाएको छ ।गत साउनमा महानगरले डेढ सय भन्दा बढी स्वयम्सेवक शिक्षकहरुलाई भर्ना गरेको थियो ।
अहिले छ महिना पछि ती सबै स्वयमसेवक शिक्षकहरुलाई एक सूचना निकालेर कामबाट हटाएको हो । एक सुचना जारी गर्दै बुधबार महानगरका सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका सबै स्वयमसेवक शिक्षकहरुलाई हटाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचना मार्फत नगर शिक्षा समितको निर्णय अनुसार स्वयमसेवक शिक्षकहरुलाई हटाइएको हो ।
पुस १ गतेदेखि लागु हुनेगरी सबै स्वयमसेवक शिक्षकहरुलाई स–सम्मान बिदाई गरिएको सूचनामा लेखिएको छ ।महानगरपालिकाले एक सय ५७ जना स्वयमसेवक शिक्षकहरुलाई भर्ना गरेको थियो ।
वीरगञ्ज महानगरपालिकासित आर्थिक अभाव भई तलब खुवाउन नसकेपछि महानगरले ती सबै स्वयमसेवक शिक्षकहरुलाई हटाएको स्रोतले जनाएको छ ।महानगरमा भर्खरै सरुवा भएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा मातृका भट्टराई आएका छन ।

