कलैया :बारा प्रहरीले कलैया उपमहानगरपालिका. वडा नं.९ रामपुरटोल बस्ने ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको कुटपिट गरी हत्या भएको घटनाको अनुसन्धान गरिरहेको छ।
सो घटनाको अनुसन्धान गर्न प्रहरीले घटनामा संलग्न रहेका सात जनालाई पक्राउ गरी फागुन०२ गतेबाट लागु हुने गरी बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शिर्षकमा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
सो घटनामा नौ जना उपर किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य फरार दुई आरोपितको खोज तलास भैईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए।
प्रहरीले अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट वडा नम्बर ३ बस्ने १९ वर्षीय सरफराज मन्सुरी,सोही ठाउँ बस्ने २९ वर्षीय तमन्ना अली,वडा नम्बर ४ बस्ने २२ वर्षीय निरज सरार्फ,वडा नम्बर ६ बस्ने २० बर्षिय राहुल भन्ने महम्मद आशु मियाँ शेख,वडा नम्बर १ बस्ने २४ वर्षीय अरुण सरार्फ,सोही स्थान बस्ने १९ वर्षीय सागर गुप्ता,वडा नम्बर २ बस्ने २१ वर्षीय परमेश्वर साहमाथि म्याद थप गराएको छ।
फागुन १ गते बिहीबार राति केन्द्रमा केही व्यक्तिहरुले मण्डललाई कुटपिट गरी हत्या गरेका थिए। मण्डल लागु औषधको कुलतमा फसेपछि उनको घरपरिवारले नवजन्म पुन स्थापना केन्द्रमा १५ दिन अघि भर्ना गरेका थिए।

