जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को कार्यवाहक अध्यक्षको जिम्मेवारी दलित महिला सदस्य माया विकले पाउने भएकी छिन् ।
वडा कार्यालयमा आइतबार बसेको चार सदस्यको बैठकले विकलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो ।सर्वसम्मत निर्णय भएसंगै विकले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने निश्चित भएको छ ।
वडाध्यक्ष ताराबहादुर कार्की निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले लिने भन्ने चर्चा चलिरहेको थियो ।
वडाध्यक्ष कार्कीलाई पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख नगदसहित जीतपुरबाट नियन्त्रणमा लिएको थियो ।
कार्कीमाथि सेवाग्राहीसंग रकम लिएको आरोप छ ।कार्कीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
अख्तियारको नियन्त्रणमा रहेका कारण कार्की सार्वजनिक पदबाट निलम्बनमा छन् ।कार्की निलम्बनमा परेपछि वडाको सेवा प्रवाहका लागि चार जना निर्वाचित वडा सदस्यले कार्यवाहक अध्यक्ष जिम्मेवारी तोक्ने प्रावधान छ ।
सोही अनुसार चार जना वडा सदस्यले सर्वसम्मत विकलाई कार्यवाहक वडाध्यक्ष बनाउन सहमति जुटाएका हुन् । वडा नं. ३ मा विकसहित चिनबहादुर पाख्रीन, अनितादेवी खत्री, देवनारायण चौधरी सदस्यमा निर्वाचित भएका थिए ।


