बाराको निजगढ नगरपालिका वडा नम्बर ४ मा पर्ने बाघ भैरव सामुदायिक बनमा शनिबार चितुवा मृत अवस्थामा फेला परेको छ ।
डिभिजन वन कार्यालय बाराका अनुसार आईतबार घाँस काँटन गएका एक उपभोक्ताले चितुवा मृत फेला परेको देखेका थिए ।
बन क्षेत्र भित्रका शिखर बस्ती चौताराको खोल्सीमा स्थानीय उपभोक्ता कृष्ण प्रसाद कुईकेल घाँस लिन जाँदा मरेको चितुवा देखेर सामुदायिक बन उपभोक्ता समितीलाई खबर गरेको बाघ भैरव सामुदायिक बनले जनाएको छ ।
करिब ३।४ दिन अगाडि नै उक्त चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । ८२ ईन्च लामो मरेको भाले चितुवाको शरिरमा कुनै किसिमको चोटपटक वा घाउँ नदेखिएकाले चितुवा कालगतीले नै मरेको हुनसक्ने अनुमान डिभिजन बन कार्यालय बाराका सूचना अधिकारी बन अधिकृत जवाहर प्रसाद कुर्मीले गरे ।
चितुवा मरेको यकिन कारण खुल्न नसके पनि चितुवाको सबै अङ्गहरु सुरक्षित रहेको र घाउँ वा चोटपटक नदेखिएका कारण मृत्यु कालगतीले नै भएको हुन सक्ने सूचना अधिकारी कुर्मीले बताए । तथापी आवश्यक अनुसन्धान गरी मृत्युको कारण पत्ता लगाउँने उनले जानकारी दिए ।
मृत चितुवाको शबलाई डिभिजन बन कार्यालयकै प्राङ्गनमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी खाल्टो खनी मुचुल्का उठाई पुरिएको छ । ५/७ बर्ष पुरानो जस्तो देखिने मृत चितुवाको तौल करिब ६५ किलो रहेको छ ।

