कांग्रेस सभापति देउवाले सार्वजनिक जरुरी महत्वका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । सभापति देउवाले सिन्धुपाल्चोकको लिदीमा पहिरो जानु १० दिनअघि स्थानीयवासीले गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याएको भनी आलोचना गर्दै सोको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले मुलुकका विभिन्न भागमा बाढीपहिराबाट भएको जनधनको क्षति न्यूनीकरणका लागि व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको मुख्यसचिव पौडेलले बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० नाघेको र सङ्क्रमण तीव्र गतिमा विस्तार भएको उल्लेख गर्दै बढ्दो चुनौती सामना गर्न कमजोरी समीक्षा गरी नयाँ रणनीतिका साथ कामको गति बढाउन तथा आइसोलेशन र भेन्टिलेटरको पर्याप्त ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
साथै उहाँले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसङ्गतिमाथि कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सभापतिलगायतलाई मुद्दा लगाउने, जायज मागको सुनुवाइ नगर्ने र अनशनमा बसेका विद्यार्थीसँग संवाद नगर्ने प्रवृत्ति पाइएको बताउनुभएको पार्टीले जनाएको छ । उहाँले अविलम्ब संवादबाट समाधानमा पुग्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताइएको छ । भेटमा सभापति देउवासँगै पार्टी केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।रासस








