नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का जिल्ला उपसभापति सुवाषचन्द्र गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज ३८ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले एक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।
स्व गिरी एक सफल व्यवसायी पनि हुनुहुन्थ्यो ।’ यसैगरी काँग्रेसले पार्टीको केन्द्रीय शिक्षा विभागका सदस्य पर्सा निवासी प्रमोदकुमार गुप्ताको निधनप्रति दुःख व्यक्त गर्दै उहाँका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । गुप्ताको आज निधन भएको हो ।
काँग्रेसले उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व गुप्ताले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको जनाएको छ । रासस