हतियार सहित दुई जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले हतियार सहित पर्सा कालिकामाई गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ को दिपेन्द्र गिरीलाई पक्राउ गरेको हो ।
गिरी ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका–९ स्थित सडकखण्डमा सवारी साधनहरू जाँच गर्ने क्रममा गिरीलाई पक्राउ गरेको हो ।
चालक गिरीले ज्याकेटको वाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल एक थान प्रहरीले फेला पारेको छ ।
मोटरसाईकल पछाडि बसेका पोखरीया नगरपालिका– ९ बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
दुबै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भईरहेको श्रेष्ठले बताएका छन् ।

