नेपालको संबिधानमा छुवाछुतलाई अपराध मानिएको छ । व्यवहारमा देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ ।
बाराको जीतपुरसँग जोडिएको बदन नगर अवस्थित एक मन्दिरमा १० वर्ष देखि दलित पुजारी रहेका छन् ।स्थानीयले मन्दिर निर्माण गरी दलित ब्यक्तिलाई पुजारी राखेका हुन् ।
‘उपल्लो जात’का मानिस उनैबाटै आशिर्वाद लिन्छन् । बिरगंज महानगरपालिका वडा नं.३२ बदननगरमा रामजानकी मन्दिरमा १० बर्ष देखि स्थानीय लक्ष्मण राम पुजारी भएर काम गरिरहेका हुन् ।
राज्यले कानुन नै बनाएर छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको छ । व्यवहारमा कार्यान्वयन नभइरहेको अवस्था रहेको छ । यहाँको समुदायले राम्रो सन्देश दिन सफल भएको रामजानकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजुराज गिरीले जानकारी दिए ।
मन्दिरका भगवानले दलित–गैरदलित भनेर विभेद गर्दैनन् । मन्दिर सबैका लागि साझा भएको गिरीले बताए । मन्दिरमा नियमित पूजा अर्चनामा दलित समुदायलाई कुनै रोक नभएको गिरीले बताए।
स्थानीय गैरदलित समाजले समेत मन्दिर सधैँ सबैका लागि खुला रहेको सन्देश दिदा स्थानीय दलित समुदाय समेत उत्साहित भएका छन । दलितको श्रम चल्ने, सीप चल्ने तर पूजा गर्न दलितलाई नचल्ने अवस्थाको अन्त्यमा समुदायको साथ रहेको बरिष्ठ समाजसेवी तथा चिकित्सक डा.रबिन्द्रकुमार सिंहले जनाए ।
सबैको हातेमालो आवश्यक पर्छ, सभ्य समाज बनाउन विभेद अन्त्य हुनुपर्छ’, डा.सिंहले साझेदारी दैनिकसंग भने । मन्दिरको ढोकाबाट दलित फर्किनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए ।
मन्दिरमा प्रवेश गर्दा अवरोध, जातीय विभेदका अनेक रूपले दलित समुदायले हिन्दु धर्म नै परिवर्तन गर्नुपर्ने बाध्यता हुनुपरेको बताए। करिब ५० बर्ष देखि चिकत्सा क्षेत्रमा आफनो समय बिताईरहेको डा.सिंहले पहिला पहिला यो ठाउँमा दलित र गैह दलितको छठ पनि बेग्ला बेग्लै स्थानमा हुन्थ्यो ,उनले भने ।
पछि यस्तो क्रियाकलाबले समाजमा नराम्रो सन्देश जान्छ बुझेर ,यहाँको समुदायले यस्तो चलनलाई हटाएर एकै ठाउँमा बसेर छठ लगायत अन्य चाडपर्ब गर्छन् डा. सिंहले थपे ।

