जसपा नेपालको बैठक तेस्रो दिन पनि जारी

साझेदारी दैनिक
415 पाठक संख्या

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक मंगलबार तेस्रो दिन ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानागाउँको थसी ब्यांक्वेटमा जारी रहेको छ ।

सो बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको हो । प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले प्रशिक्षण दिएका छन् ।

देवकोटाले संघीय प्रणालीको अभ्यास,आवश्यकता,महत्व र यसको कार्यान्वयनको चरण लगायतका बिषयमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गरेका राजनीति प्रतिवेदनमाथि दोस्रो सत्रमा छलफल सुरु हुनेछ । देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूचि रहेको छ ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरेका हुन् । राजनीतिक प्रस्तावमा संघीयता कार्यान्वयन,संविधान संशोधन,सामाजिक न्यायको हक,निर्वाचन क्षेत्र निर्धारण लगायत विषयहरू रहेका छन्।

यसका साथै जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने संगठन निर्माण अभियान चलाउने प्रस्ताव समेत रहेको छ ।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशन पछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ ।

यसअघि सोमबार राजनीति विष्लेषक विजयकान्त लाल कर्ण,संचारकर्मी प्रनव खरेल,अभिवक्ता शंकर लिम्बू र अर्थविद् डा. उमाशंकर साहले परराष्ट्र मामिला,सामाजिक लोकतन्त्र, संघीयताको कानूनी पक्ष,संघीयताभित्रको आर्थिक सवाल लगायतका विषयमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a review

This will close in 0 seconds