वर्षाले पर्साको जनजीवन प्रभावित,घरमा पानी,पानी,बाटो बन्द

राम मण्डल
267 पाठक संख्या

वीरगञ्ज : अविरल वर्षाका कारण पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ ।बिहीबारदेख परेको अविरल वर्षाका कारण जिल्लाको सदरमुकाम वीरगञ्ज सहित जिल्लाको जनजीवन प्रभावित भएको हो।

जिल्लाको ग्रामीण भेग ठोरी गाउँपालिका,पर्सागढी नगरपालिका बहुदरमाई नगरपालिका,पकहा मैनपुर गाउँपलिकाका लगायतमा ठाउँठाउँमा सडक अवरुद्ध भएको छ।

वीरगञ्ज महानगरपालिकाको कुल ४२ वटा घरहरुमा पानी पसेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए। पकहा मैनपुर गाउँपालिकामा ३६ घर र बहुदरमाई नगरपालिकाको ५ घरधुरीमा पानी पसेको उनले बताए।

भेडाहा खोलामा आएको बाढीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलका १० घरधुरीमा पानी पसेको छ। स्थानीय मुकेश ठाकुर,हरी मण्डल,वीरेन्द्र राम,राधेश्याम ठाकुर, गगनदेव सहनी,कारी पासवान,दिलिप पटेल,रामराज मण्डल र हरीराम ठाकुरको फुसको घरमा बाढीको पानी पसेको छ।

पानी पस्दा ती सबै घर परिवारका सदस्यहरु बिस्थापित भएको प्रहरी चौकी परवानीपुरले जानकारी दिएको छ। घरमा पानी पसेपछि विस्थापित भएका ६१ जनालाई वडा कार्यालयमा राखिएको छ।

सोही खोलामा आएको बाढी वडा नम्त्रबर ३१ बेल्वा टोलमा पसेको छ ।त्यहाँ दर्जन भन्दा बढी घरमा बाढीको पानी पसेको स्थानीय वासिन्दाले जनाएका छन्।

यस्तै वीरगञ्ज महानगरपालिका–११ कृषि औजार पछाडी रहेको डोम टोलमा र्सिसिया नदीमा आएको बाढीको पानी पसेको छ। खोलामा आएको बाढीको पानी टोलमा रहेको २७ वटा घरधुरीमा पसेको हो।

घरमा पानी पसेपछि त्यहाँ रहेका एक सय जना विस्थापित भई श्रीपुर धर्मशालामा शरण लिएका छन्। मानवीय तथा चौपया क्षति नभएपनि साढे चार फिटसम्म पानी पसेकोले आवत जावत गर्न मानिसहरुलाई कठिनाई भएको छ।

यस्तै बाढीका कारणले पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा देखि वीरगञ्ज जोडने सडक खण्ड अवरुद्ध भएको छ। बाटो अवरुद्ध भएका कारण ग्रामीण भेगका स्थानीयहरुलाई सदरमुकाम सम्म आवतजावतमा समस्या भएको छ।

जिल्लाकै पर्सागढी नगरपालिका–९ मा तिलाबे खोलाको जलस्तर बढेर एकटाङ्गा–मनवा सडक खण्डमा पनि आवत जावतमा समस्या भएको छ ।

Leave a review

This will close in 0 seconds