दिवङ्गत खेलाडीको स्मृतिमा गरियो दीप प्रज्वलन

साझेदारी दैनिक
353 पाठक संख्या

निजगढ,नवराज चौलागाईं/ पहिरोमा पुरिई निधन भएका खेलाडीहरुको स्मृतिमा निजगढमा शुक्रबार दीप प्रज्वलन गरिएको छ।

पहिरोमा पुरिई निजगढका बिकल रेग्मी सहित मकवानपुरका साइमन योन्जन,अनुप घलान,दिवस बानियाँ,सर्लाहीका आदित्य बलम्पाकी र धादिङका रियान्स आचार्यको निधन भएको हो।

जसमध्ये निजगढका बिकल रेग्मीले प्रारम्भिक फुटबल प्रशिक्षण गरेको निजगढ फुटबल क्लबले शुक्रबार साँझ दीप प्रज्वलन गरेर समवेदना व्यक्त गरेको हो। निजगढ वडा नम्बर ९ स्थित चाईनिज क्याम्प खेल मैदानमा दीप प्रज्वलन गरिएको हो।

सो कार्यक्रममा निजगढ फुटबल क्लबका पदाधिकारी,प्रशिक्षकहरु, क्लबमा प्रशिक्षणरत खेलाडी र अभिभावकहरुले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

निजगढ फुटबल क्लबमा प्रशिक्षण गरिरहेका बिकल लगायत ५ जना खेलाडिहरु बत्सलादेवी एन्फा एकेडेमीमा प्रशिक्षण लिइरहेका थिए।

निजगढ फुटबल क्लबले आयोजना गरेको दीप प्रज्वलन सहित मौन धारण गरिएको हो।

कार्यक्रममा क्लबका अध्यक्ष शम्भु थापा मगरले बिकलको निधनले निजगढमा खेलाडी उत्पादन गर्ने क्लबको उद्देश्यमा गम्भीर क्षति पुगेको प्रतिक्रिया जनाउँदै दुख व्यक्त गरे।

क्लबले प्रशिक्षण सहित सहजीकरण गरेर राष्ट्रिय टोलि सम्मको यात्रा तय गर्ने गरी आफुहरुले खेलाडी उत्पादन गरिरहेको उनले जनाए। बिकलको निधनले अपुरणीय क्षति भएको उनले जनाए।

पहिरोमा पुरिई निधन भएका खेलाडीहरुको उद्धेश्य अब सह प्रशिक्षणरत खेलाडीहरुले पूरा गर्नुपर्ने भन्दै अध्यक्ष थापा मगरले खेलाडी र अभिभावकहरुलाई प्रेरणा दिएका थिए।

Leave a review

This will close in 0 seconds