बेनौलीको महाबिरी झण्डा मेला भिखना पोखरीको पश्चिम डिलमा हुनेछ– पचरौता नगर प्रमुख सिंह

संदिप प्रसाद यादव
258 पाठक संख्या

कलैया : पचरौता नगरपालिकाको वडा नम्बर ७ स्थित बेनौलीको महाबिरी झण्डा मेला भिखना पोखरीको पश्चिम डिलमा हुने भएको छ ।

नगरपालिकाको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरी कार्तिक २४ र २५ गते मेला हुने नगर प्रमुख जलन्धर सिंह जैसवारले जानकारी दिएका हुन्।

त्यहाँ अर्को मेला लगाउन तिरनवाज सिंह भन्ने लालबाबु पटेलको अध्यक्षतामा एउटा मेला समिति तथा भैयाराम सहनीको अध्यक्षतामा अर्को मेला समिति गठन समेत भएको देखिएको छ।

सहनीले मेला लगाउनका लागि वडा कार्यालयले गठन गरेको मेला समिति विरुद्ध रिट दिएकोमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार समेत गरेको नगर प्रमुख सिंहले जानकारी दिए ।

प्रमुख सिंहले एकै ठाउँमा दुई वटा मेला लगाएर सद्भाव बिगार्ने काम नगर्न पत्रकार सम्मेलन मार्फत अनुरोध गरेका छन्।

नगर प्रमुख सिंहका अनुसार अघिल्लो वर्षमा दुई वटा मेला आयोजना गर्दा दोहोरो झडप भएको थियो। १८ राउण्ड हवाई फायर समेत भएको थियो। र सामाजिक सद्भाव बिग्रिने र अशान्त वातावरणको स्थिति बनेको थियो।

अघिल्ला वर्षमा भएका घटनाले निम्त्याएको परिस्थितिले कसैलाई पनि फाइदा नभएको सिंहले भने । मेलालाई शान्त वातावरणमा सम्पन्न गर्नका निम्ति सहयोग गर्न समेत नगरप्रमुख सिंहले पत्रकार सम्मेलनमा आग्रह गरे।

अनुमति बिना संस्कृतिक कार्यक्रम मेला तथा नाटक संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही हुने समेत उनले बताएका छन् ।

आर्थिक वर्ष २०८० मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय बारामा मेला सम्बन्धी सम्झौता समेत भएको उनले बताए। २०८१ साल देखि एउटै मेला लगाउने सहमति समेत भएको थियो।

नगरका प्रवक्ता लक्ष्मी यादवले स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर क्षेत्रभित्र मेला,सांस्कृतिक कार्यक्रम आयोजना गर्नका निम्ति नगरपालिका वा वडा कार्यालयको अनुमति अनिवार्य गरेको जनाए। स्थानीय सरकारको अनुमति विना कुनै पनि मेलाको आयोजना नगर्न उनले जनाएका हुन्।

महाविरी झण्डा मेलालाई भव्यरुपमा सम्पन्न गर्न वडा कार्यालयको समन्वयमा गठित समितिलाई अनुमति दिईसकेको उनले जनाए। त्यसबाहेक उस्तै प्रकृतिको अर्को मेला आयोजना गर्न कसैलाई पनि अनुमति नदिईएको प्रवक्ता यादवको बताए।

मेलालाई शान्त वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको उनले जानकारी दिए।

यसैगरी पचरौता वडा नं. ७ का वडाध्यक्ष बनारसी विनले एक सूचना जारी गरेर असोज १८ गते धर्मदेव प्रसाद यावदको अध्यक्षतामा मेला आयोजना समिति गठन भएर तयारी भईरहेको उल्लेख गरेका छन्। यो अवस्थामा अर्को समूहले मेला आयोजना गर्न लागेको सुनिएकाले त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन्।

स्थानीय सरकारको काम,कर्तव्य र अधिकारलाई ध्यान दिन उनले आग्रह गरेका हुन्। यस्को विरुद्धमा गएर त्यस्ता गतिविधि नगर्न समेत वीनले आग्रह गरेका हुन्।

उक्त पत्रकार समेलनमा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमी प्रसाद यादव,वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बीन,शिक्षा शाखाका प्रमुख मुकेश कुमार सिंह र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेकोे थियो ।

Leave a review