जीतपुर : जीतपुरसिमरा उपमहानगरको शिक्षक संगठनहरुले वडा अध्यक्ष तथा वडा अध्यक्षले तोकेको ब्यक्ति बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हुनुपर्ने प्रावधान हटाउँनुपर्ने माग गर्दै नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
सामुदायिक विद्यालयमा संघीय ऐनअनुसार नै विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने माग गर्दै जीतपुरसिमराअन्तरगतका शिक्षक संघ संगठनहरुले आइतबार नगर प्रमुख राजन पौडेललाई यसरी ज्ञापन पत्र बुझाएका हुन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लागु भएको स्थानीय शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति हुने व्यवस्था रहेको छ । यो व्यवस्था संघीय कानुनसँग बाझिएको भन्दै संघ संगठनले संघीय कानुनअनुसार नै व्यवस्थापन समिति गठन हुनुपर्ने बताउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
जीतपुरसिमरा नगर शिक्षक महासंघका प्रतिनिधि शंकरकुमार आचार्य,नेपाल शिक्षक संघका नगर अध्यक्ष जयप्रकाश राय, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष पीताम्बर चौधरी र एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष प्रमोदप्रसाद यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संघीय शिक्षा ऐनमा अभिभावक भेलाले चयन गरेका चारजना कम्तिमा दुई महिला अभिभावकसहित एक जना वडा प्रतिनिधि,बुद्धिजिवी शिक्षाप्रेमी,चन्दादाता मध्येबाट कम्तिमा एक महिलासहित अध्यक्ष छनौट गर्ने व्यवस्था बाझिएको देखिन्छ भनिएको छ ।
सैगरी ज्ञापनपत्रमा भर्खरै काठमाडौँ महानगरपालिकामा रहेको विद्यालय व्यवस्थापन समितिसम्बन्धि संघीय कानुनसँग बाझिएका कानुन अमान्य र बदर घोषित गरी कानुन बमोजिम गर्नु गराउनु भन्ने अदालतको फैेसलाको पूर्णपाठ आइसकेकोले जीतपुरसिमरा उपमहानगरपालिकामा समेत उपमहानगरपालिकामा सोही प्रकृतिका कानुन बनेकाले व्यवस्थापन समिति गठन सम्बन्धि नगर शिक्षा ऐन २०७५ को बुँदा खारेज गरी शिक्षा ऐन २०२८ अनुसार नै विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।

