कलैया : दलित महिला सदस्य तथा नगरकार्यपालिका सदस्यको असामयिक मृत्यु भएको शोकमा बाराको पचरौता नगरपालिकाको कार्यालय लगायतका संस्थाहरु आइतबार बन्द हुने भएको छ।
नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्। सूचनामा नगर प्रमुख सिंहले पचरौता २ निवासी दलित तथा नगरकार्यपालिका सदस्य सतियादेवी दास तत्मिनको माघ १७ गते अल्पायुमै मृत्यु भएको उल्लेख गरेका छन्।
उनले शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। पचरौता नगरपालिकाको सम्पूर्ण कार्यालयहरु ( अत्यावश्यक सेवा तथा विद्यालय वाहेक) बन्द रहने सूचनामा उल्लेख छ।
तत्मिनको मृत्युले पचरौता नगरपालिका मर्माहत भएको सो सूचनामा लेखिएको छ।

