छैटौं मधानी महोत्सव मौलापुरमा,भारतीय सुपर स्टार रविकिसन,बिनय,रितेश पाण्डे आउने

साझेदारी दैनिक
251 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव : रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा यसवर्ष पनि मधानी महोत्सव–२०८१ आयोजना हुने भएको छ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा यो महोत्सवको आयोजना गर्ने भएको हो। वर्षेनी आयोजना गर्दै आएको मधानी महोत्सव २०८१ यस वर्ष पनि आयोजना हुन लागेको नगरपालिकाले जनाएको छ।

मौलापुर नगरपालिकाले मंगलवार पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मधानी महोत्सव बारे जानकारी दिएको हो। मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम नगरपालिकाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले महोत्सवबारे जानकारी दिएका हुन्। यस वर्ष फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म पाँच दिन पुरातात्विक महादेव मन्दिर पतौरमा छैटौं मधानी महोत्सव आयोजना हुन लागेको उनले जानकारी दिएका हुन्।

महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान,मेला,सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने छ। ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा नेपाली तथा विदेशि लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ।

फागुन ११ गते शिव पार्थिव पुजन,महाहवन तथा मधानी महोत्सवको समुदघाटन हुने कार्यक्रम रहेको छ। त्यस्तै फागुन १२ गते दिउँसो शिव बारात यात्रा निकालिने छ। १३ गते मधानी बिशेष पूजा एवं समारोह आयोजना हुने भएको छ। १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुने छ। फागुन ११ गतेदेखी फागुन १५ गते रातिसम्म स्थानीय नाँचको व्यवस्था गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलवानहरु कुस्तीमा सहभागी हुन आउने छन्। फागुन १३ गते आयोजना हुने मधानी विशेष समारोहको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहेका छन्।

यो वर्षको मधानी महोत्सवमा आफ्ना सांस्कृतिक प्रस्तुति दिन फागुन १४ गते सांसद समेत रहेका भारतीय भोजपुरी एवं हिन्दी सिनेमा जगतका सुपर स्टार अभिनेता रविकिसन,भारतका पूर्व मन्त्री एवं सुप्रसिद्ध गायक एवं गीतकार बिनय विहारी र भारतीय सुप्रसिद्ध गायक तथा अभिनेता रितेश पाण्डे आउन लागेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

त्यस्तै भारतका अन्य कलाकारहरुमा मिंटुवा,भाइरल कलाकार मोनालिसाका साथै नेपाली कलाकारहरुमा सुप्रसिद्ध गायक सुनिल पंडित,गायिका अनु चौधरी,सद्दाम हुसेन,रचना सिवाकोटी, रुद्रनारायण तिवारी,प्रिया सुहानी,रोसनी राज,सरिता साह,अर्जून बीसी,मनीषा राई सहित स्थानीय कलाकारहरु पनि सांगीतिक प्रस्तुती दिन आउने छन्।

सोही दिन भारतीय भोजपुरी अभिनेता तथा चर्चित कमेडिएन मनि मेराज,गायक चाँद अली लगायतका कलाकारलाई पनि बोलाउन कुराकानी भइरहेको र चाडै उनिहरुको पनि नाम सार्वजनिक गरिने तयारी भइरहेको पत्रकार सम्मेलनमा सहभागी कलाकार विजय यादव निर्विजले जानकारी दएका हुन्।

यस वर्षको मधानी महोत्सवलाई अझ विशेष बनाउन क्रिकेट प्रतियोगिताको पनि आयोजना गरिने र त्यसमा भारतीय खेलाडी सुर्य कुमार यादवलाई पनि बोलाउन नगरपालिकाले पहल गरिरहेको बताउँदै यादवले सम्भवत खेलाडी यादव पनि आउन सक्ने जानकारी दिएका छन्।

उत्खनन्को क्रममा २०७६ सालमा मौलापुर नगरपालिका वडा नं. ५ पतौरामा हजारौ वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको कर्नाटकालीन शिव मन्दिर फेला परेको थियो। हजारौ वर्ष पुरानो पुरातात्विक शिव मन्दिर फेला परेपछि मौलापुर नगरपालिकाले त्यस मन्दिरलाई संरक्षण गर्दै सोही वर्षदेखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।

फेला परेको कर्नाट्कालिन पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले २०७६ सालदेखी प्रत्येक वर्ष मन्दिर परिसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको हो।

२०७६ सालमा महाशिवरात्रीको दिन पतौरामा पहिलो मधानी महायज्ञको आयोजना गरिएको थियो। मौलापुर पतौरामा पूर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहको विशेष पहलमा नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकाहरुको सहभागितामा महायज्ञ हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साहले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पु¥याउन आफू निरन्तर प्रयत्नरत रहेको बताइन्।

नगरपालिकाबाट ८० लाख रुपैयाँ खर्च गरि यो महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख साहले जानकारी दिइन्। मधानी महोत्सवले मौलिक संस्कृतिको संवद्र्धन हुने, पर्यटकीय विकास हुने तथा व्यापार प्रवद्र्धन हुने विश्वास रहेको नगर प्रमुख साहले बताइन्।

यस मन्दिर र क्षेत्रको विकासका लागि नगरपालिकाले वार्षिक लाखौं खर्च गर्ने गरेको भएपनि प्रदेश र केन्द्र सरकारले केहि पनि सहयोग नगर्ने गरेको भन्दै नगर प्रमुख साहले गुनासो पोखिन्।

महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट लाखौको संख्यामा आउने गरेको दर्शक तथा भक्तजनबाट यहाँको ब्यापार व्यवसाय बढ्ने गरेको पालिकाको दाबी छ।

महोत्सवले मौलापुर नगरको समग्र विकासमा समेत ठुलो टेवा पु-याउने विश्वास पालिकाले गरेको छ। मधानी महोत्सवका कारण पिछडिएको उक्त ठाउँ एक समृद्ध र सुन्दर सहरको रुपमा विकसित हुँदै गइरहेको नगरपालिकाको बुझाई छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ८ लाख भन्दा बढी दर्शक आउने नगरपालिकाको दावी छ। पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसारको साथै पर्यटकीय गतिविधि बढाउनको लागि मौलापुर नगरपालिकाले २०७६ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महोत्सवको सुरुआत गरेको थियो।

Leave a review

This will close in 0 seconds