जीतपुर : अवैध काठ चिरान गर्दै गरेका दुई जनालाई बाराको कोल्हबी नगरपालिका–१,नयाँबस्तीबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा कोल्हबी–४ निवासी ६७ वर्षीय चतुरी चौधरी र ५५ वर्षीय भेदर चौधरी रहेका छन् । डिभिजन वन कार्यालय बाराबाट प्राप्त विशेष सूचनाको आधारमा गएको टोलीले घरको पछाडि लुकिछिपी हाते आराले काठ चिरेर झ्याल र ढोका बनाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
सुरक्षा कारबाहीमा कोल्हबी सब–डिभिजन वन कार्यालयको टोलीसँगै जनपथ प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए ।
करिब १३.२२ क्युफिट चिरान काठसहित पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको छ ।
अवैध रूपमा काठ तस्करी तथा चिरान रोक्न सुरक्षा निकायले कडाइ गर्दै आएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिव कुमार झाले जानकारी दिए ।


