मुख्यमन्त्री सिंह एक्सनमा आउँदा रौतहटको १० हस्पिटल बन्द,सिंहको आगमनले झोले हस्पिटलका सञ्चालकको भागाभाग

साझेदारी दैनिक
693 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको निजी अस्पतालहरुको अनुगमन गरी कार्यवाही गर्न थालेपछि झोले अस्पतालका सञ्चालकहरुमा भागदौड मच्चेको छ ।

रौतहटमा कानुनी प्रक्रिया नै पुरा नगरी गैर कानुनी रुपमा हस्पिटल सञ्चालन गरी बिरामीलाई लुट्ने र ज्यान लिने प्रवृत्ति बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले आफै रौतहटको निजी अस्पतालहरुको अनुगमन निरीक्षण गर्न थालेका छन् ।

मुख्यमन्त्री सिंहले हिजो शनिवार साँझ रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा सञ्चालित ११ वटा निजी अस्पतालको स्थलगत अनुगमन गर्दा १० वटा अस्पताल अबैध रुपमा सञ्चालन रहेको फेला परेको छ ।

अनुगमणको क्रममा मापदण्ड पुरा नगरी अबैध रुपमा सञ्चालन रहेको फेला परेका ति १० वटै हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले मापदण्ड पुरा नगरी सञ्चालित चन्द्रनिगाहपुरका सिभिल हस्पिटल एन्ड रसर्च सेन्टर,चन्द्रपुर सिटी हस्पिटल,पब्लिकलाईफ केयर पोलिक्लिनिक,हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि,एपोलो हस्पिटल,हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर,चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि,चन्द्रपुर सामुदायिक हस्पिटल,चन्द्रपुर आँखा तथा दात उपचार केन्द्रलाई बन्द गर्न निर्देशन दिए ।

अनुगमनको क्रममा कानुनी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेको पाइएकाले ति हस्पिटलहरुलाई तत्कालका लागि बन्द गर्ने निर्देशन दिएको उनल बताए । सो क्रममा उनले मापदण्ड पुरा गरी दर्ता गरेर सेवा सञ्चालन अनुमति लई मात्र अस्पताल सञ्चालन गर्न ति अस्पतालका सञ्चालकहरुलाई निर्देशन दिएका छन् ।

११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालिमात्र मापदण्ड र दर्ता गरी सञ्चालनमा रहेको पाइएको छ ।
मुख्यमन्त्री सिंहले रौतहटको निजी अस्पतालहरुको अनुगमन गरी कार्यवाही गर्नथालेपछि झोले अस्पतालका सञ्चालक र नक्कली डाक्टरहरु सम्पर्कविहिन हुन थालेका छन् ।

जिल्लाको सदरमुकाम गौर,मध्य भाग गरुडा,शिवनगर,झाँझपुल, मौलापुर लगाएतका ठाउँमा दर्जन भन्दा बढी अबैध हस्पिटलहरु सञ्चालन रहेको पाइएको छ ।

पावर र पहुँचको बलमा केहि व्यक्तिहरु अबैध हस्पिटल सञ्चालन गरी बिरामीलाई खुल्याम लुट्ने काम गर्दै आएका छन । अबैध हस्पटलका कारण सर्वसाधारण नागरिक बेला बेलामा अकाल्मै ज्यान समेत गुमाउँदै आएका छन् ।

जिल्लाको दर्जनौ अबैध निजी अस्पताल बिरामीलाई वषौंदेखी लुट्दै आएको र मान्छेको ज्यान समेत लिदै आएको भएपनि त्यस्ता हस्पिटलका सञ्चालकहरुलाई सम्बन्धित निकायले अनुगमन गरी कार्यवाही गर्ने आट देखाएका छैनन ।

ति सञ्चालहरुले नियमनकारी निकायलाई मोटो रकम दिई उनिहरुकै आड एवं संरक्षणमा अबैध हस्पिटल सञ्चालन गरी बिरामीलाई खुल्याम लुट्ने गरेको आरोप लाग्ने गरेको छ ।

जिल्लामा एनएमसी नम्बर नै नलिई उपचार गर्ने,उपचार गर्ने अनुमति नै नपाएका डाक्टरले उपचार गर्ने,दर्ता नै नगरी हस्पिटल सञ्चालन गर्ने,सम्बन्धित निकायबाट अनुमति नै नलिई हस्पिटल सञ्चालन गर्ने, समयमा नवीकरण नगर्ने,अनुमति लिएको भन्दा बढी बेड राखेर उपचार गर्ने जस्ता कार्यहरु भइरहेको पाइएको छ ।

कानुनी प्रक्रिया पुरा नगरी अबैधानिक तरिकाले सञ्चालित सबै हस्पिटलहरुलाई अनुगमन गरी बन्द गर्नेतर्फ मुख्यमन्त्री सतिश कुमार सिंहले ध्यान दिनुपर्छ ।

यसैविच मुख्यमन्त्री सतिश कुमार सिंहले चन्द्रपुर पछि अब रौतहटको सबैजसो निजी अस्पतालहरुको अनुगमन गर्ने आफनो योजना रहेको बताएका छन् ।

आज विहान सञ्चारकर्मीसंगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री सिंहले जिल्लामा सञ्चालित सबै निजी अस्पतालहरुको स्थलगत अनुगमन गर्ने र अनुगमनको क्रममा फेला पर्ने अबैध हस्पिटलहरु बन्द गर्ने बताएका छन् ।

Leave a review

This will close in 0 seconds