औद्योगिक नीति २०८१ को मस्यौदा माथी सरोकारवालबीच छलफल

रञ्जन यादव
349 पाठक संख्या

जीतपुर : बाराको सिमरामा औद्योगिक नीति २०८१ को मस्यौदा माथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

सरकारले ल्याउन लागेको औद्योगिक नीति २०८१ को मस्यौदा माथि छलफल गदै उद्योगी व्यापारीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे ।

वस्तु आयात गर्दा लाग्ने भन्सार महसुल र कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल समान भएकाले स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूको भनाइ थियो ।उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले भने स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न उद्योगी,व्यवसायीलाई सुझाएका छन् ।

नीति राम्रो भएपनि आपसी समन्वय नभए काम हुँदैन भन्दै राज्यको राजस्वमा ठूलो योगदान दिने निजी क्षेत्रका उद्योगी र व्यापारीको काम छिटो छरितो तरिकाले सम्पत्र हुनु पर्ने अन्तरक्रिया कार्यक्रममा जोड दिएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले औद्योगिक नीति कमजोर भएमा उद्योगी,व्यापारीले दुःख पाउनुका साथै राज्यले पनि समस्या व्यहोर्नु पर्ने धारणा राख्नुभयो । उनले सबै जनता उत्पादनमुखी हुनुपर्ने धारणा राखे ।

कतिपय ब्यवसायीहरुले नीति उपर छलफल गर्नु भन्दा पहिले अन्तरमन्त्रालयबीच छलफल हुनु पर्ने भन्दै एउटा मन्त्रालयको नीति अर्को मन्त्रालयले स्वीकार नगर्दा उद्योगी र व्यापारीहरु ठूलो समस्या भोग्नु पर्ने पिडा सुनाए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले नदिजन्य पदार्थ उत्खन्नको मापदण्ड झन्झटीलो तथा अब्यवाहारिक भएकाले यसलाई संशोधन गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले भन्सार शुल्क घटाएर समान तस्करीलाई निरुत्साहित गर्नुपर्ने सल्लाह दिए ।

त्यस्तै निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरीले सरकारको रबैयाले युवाहरु दिन्हौँ बिदेश पलाएन भईरहेको बताए । उनले केही ऐन कानुन संशोधन गरेर भएपनि स्वदेशमा बस्ने बाताबरण बनाउँनुपर्ने धारणा ब्यक्त गरे । स्वदेशी बस्तुको प्रयोग र उत्पादनमा जोड दिए ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्नुपर्ने धारणा राखे । उनले गाँजालाई पनि औषधी प्रायोजन र बिदेशीकोलागि खुला गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सह सचिव जितेन्द्र बस्नेतले निजी क्षेत्र,लगानीकर्ता अन्तरक्रिया एवं नयाँ औधोगिक नीतिको मस्यौँदाको बिषयमा प्रकाश पारेका थिए ।

Leave a review

This will close in 0 seconds