प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्दै

रासस
665 पाठक संख्या

महेन्द्रनगर (धनुषा) : मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताउनुभयो ।

उहाँका अनुसार बस पार्क,राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टी शौचालय निर्माण हुनेछन् । “जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ ।

हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढाउने सोच बनाएका हौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

योजना कार्यान्वयनका लागि बोलपत्र प्रक्रिया सुरु भइसकेको र यस कार्यको संयोजनका लागि प्रदेश नीति आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह,जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहलगायत सरोकार भएका निकाय र प्राविधिक रहने गरी समिति बनाइएको उहाँले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds