कलैया । बारा प्रहरीले लागू औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले शुक्रबार विशेष सूचनाको आधारमा लागू औषध गाँजासहित उक्त युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उप-महानगरपालिका वडा नं.१३ पदमपोखरी बस्ने २७ वर्षीय बिवेक थिङ रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ छठीमाई घाट स्थित हेटौंडाबाट वीरगँज तर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा थिङलाई पक्राउ गरिएको छ ।
चेकजाँच गर्ने क्रममा तीन जना व्यक्तिहरु मोटरसाईकल छाडेर फरार समेत भएको प्रहरी प्रवक्ता पण्डितले बताए ।
उक्त दुबै मोटरसाईकल चेकजाँच गर्दा ४ वटा ब्यागमा रातो प्लाष्टिकले बेरिएको ४ पोकामा ६२ किलो ५५ ग्राम लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
उक्त दुबै मोटरसाईकल र थिङलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता पण्डितले जानकारी दिए ।

