वीरगञ्ज : पर्सा प्रहरीले पोखरिया नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजितकुमार चौरसियालाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ गरेको छ।
पोखरिया नगरपालिकामा ५८४ कर्मचारीको विषयमा पत्रकार रञ्जित चौरसियाले लेखेको समाचारको प्रतिक्रियामा अजय कुमार श्रीवास्तवले २०८० सालको चैत महिनामा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका थिए। केही महिनापछि,प्रशासकीय अधिकृत श्रीवास्तव र पत्रकार चौरसिया विरुद्ध पाँच जनाले जिल्ला अदालत पर्सामा विद्युतिय अपराधको मुद्दा दर्ता गरेको जनाइएको छ।
दुईवटै मुद्दा अदालतमा विचाराधीन रहेका बेला,२०८१ सालको वैशाख ३१ गते पत्रकार चौरसियाका बुवा,सुबस प्रसाद चौरसियामाथि आक्रमण भएको थियो। उक्त आक्रमणमा प्रशासकीय अधिकृत श्रीवास्तव र अजित चौरसियाले कुटपिट गर्दै छुरा प्रहार गरेको जनाइएको थियो।
घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिन खोजे पनि सुनुवाइ भएन। उनले उच्च अदालत जनकपुरको अस्थायी इजलासमा परमादेशको लागि निवेदन दिएका थिए। उच्च अदालतले चैत महिनाको पहिलो साता प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न परमादेश दिएको थियो।
उच्च अदालतको आदेश अनुसार अनुसन्धान अघि बढाएको हो। सोही क्रममा प्रहरी टोलीले अजय कुमार श्रीवास्तव र अजित चौरसियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्। ज्यान मार्ने उद्योगमा उनीहरु उपर मुद्दा दर्ता गराई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मिश्रले बताए।
प्रशासकीय अधिकृत श्रीवास्तव २०८२ सालको वैशाख ७ गते स्वास्थ्य शाखाका प्रमुखको रूपमा बहुदरमाई नगरपालिकामा हाजिर भएका थिए। उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिए।

