कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक शिक्षक माथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पर्साको श्री रामदेनी तिवारी नि.मा.वि. तहमा कार्यरत शिक्षक चन्देश कुमार चौहान माथि सोमबार आरोप पत्र दायर गरेको हो।
चौहानको शैक्षिक योग्यता सम्बन्धीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजूरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।
वीरगंज महानगरपालिका वडा नं. १ छपकैया स्थित श्री रामदेनी तिवारी आ.वि.मा कार्यरत शिक्षक चन्देश कुमार चौहान मिति २०६०/०८/०५ मा नि.मा.वि. तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्त भई अध्यापन गरिरहेका थिए।
उनले नि.मा.वि. द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागी MAGADH UNIVERSITY BODH-GAYA बाट अग्रेजी B.A. (Hons.) स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी मिति २०७०/०४/०८ मा नि.मा.वि. द्वितीय श्रेणीमा पदोन्नति भई लाभ,ओहदा र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जनाएका हुन्।

