वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मंगलबार मृत्यु भएको छ। कैदीको मृत्युपछि आफन्तजनले प्रदर्शन गरेपछि मृत्युबारे छानवीन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका –२५ का कैदी राहुल तुराहाको उपचारको क्रममा मृत्यु भएको हो। जेलभित्र व्यायाम गरिरहेका बेला तुराहा अचानक अस्वस्थ्य भएका थिए। उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रेफर गर्न सिफारिस गरेका थिए। तर मृतकका आफन्तका अनुसार कारागार प्रशासनले सुरक्षाको कारण देखाउँदै उनलाई बाहिर लैजान अनुमति दिएन। जसले गर्दा उपचारमा ढिलाइ भई मृत्यु भएको हो।
एम्बुलेन्समा राख्ने क्रममा प्रहरीले रोकेको थियो। जस्को कारण उपचारमा ढिलाइ भएको आरोप आफन्तजनले लगाएका हुन्। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग आफन्तजनले गर्दै टायरबालि प्रदर्शन गरेका थिए।
मृतकका आफन्त र स्थानीयवासीले अस्पताल तथा कारागार प्रशासनको लापरबाहीको आरोप लगाएका हुन्। अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेपछि प्रशासनले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो। गठित समितिमा मृतकका तर्फबाट मुकेश साह तुराहा, वडा नं. २५ का वडा सदस्य जगदिस साह तुराहा, मानवअधिकारकर्मी, प्रहरी प्रतिनिधि, अस्पताल प्रशासनका प्रतिनिधि र मृतकका परिवारका सदस्यहरू छन्।
समितिलाई घटनाको गहिराइमा पुगेर विस्तृत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। मृतक तुराहा कर्तव्य ज्यान मुद्दामा २०७९ साल देखि कारागारमा थिए। अदालतको आदेश अनुसार वीरगञ्ज कारागारमा उनले जन्मकैद सजाय काटिरहेका थिए।


