भूमि विधेयक विरुद्ध जसपा पार्टी नेपालको कलैयामा प्रदर्शन

साझेदारी दैनिक
296 पाठक संख्या

कलैया : जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको आयोजनामा यस्का नेता तथा कार्यकर्ताले बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन्। प्रतिनिधि सभामा दर्ता रहेको भूमि विधेयकको विरोधमा उनीहरुले बुधबार यसरी प्रदर्शन गरेका हुन्।

सिद्धेश्वर मन्दिरको प्राङ्गणबाट निस्किएको जुलुसका सहभागिले नाराबाजी गर्दै विधेयक खारेज गर्न माग गर्दै कलैया नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा पश्चात सो जुलुश भरत चौकमा कोणसभामा परिणत भएको थियो।“भूमि विधेयक खारेज गर”, “किसान विरोधी नीति बन्द गर” जस्ता नारा उनीहरुले लगाएका थिए।

कोणसभाका प्रमुख अतिथि एवम् केन्द्रिय सदस्य सरोजकुमार यादवले भूमि विधेयक बनाउने अधिकार प्रदेश सरकारको रहेको बताउदै प्रदेश सरकारलाई बनाउन नदिएर जबर्जस्ति कानुन बनाउन खोजेको आरोप लगाए। उनले मधेसी जनता र मधेसमाथी विधेयक थुपार्न खोजेको आरोप लगाए।

जुन ठाउँ र पालिकाको सुकुम्बासीहरु छन् त्यहीका ब्यक्तिहरुलाई लालपुर्जा वितरण गरोस् अनि घर पनि बनओस उनले भने। सरकारले केही दिन अगाडि मधेस प्रदेशलाई गरेको सुख्खा क्षेत्र घोषणा नामको लागि भएको उनले जनाए। जनताले केही नपाएको उनको भनाई थियो। संघीयताले अधिकार दिएको जनाउदैसरकारको ध्यान संघीयतालाई खतम गर्ने तिर रहेको उनले आरोप लगाए। किसानहरुलाई समयमा रासायनिक मल नपाएको उनले जनाए।

कार्यक्रममा जसपा नेपाल बाराका अध्यक्ष रमेश यादवले विधेयक किसान र साना भू–स्वामीलाई विस्थापित गर्ने खालको रहेको बताए।

कार्यक्रममा जसपा पार्टी नेपालका केन्द्रीय सदस्य रामबाबुप्रसाद यादवले विधेयक जनता विरोधि रहेको जनाए। उक्त बिरोध कार्यक्रममा केन्द्रिय सदस्य रामकिशोर यादव,आत्माराम साह,नेता भरत बहादुर थापा,रुपलाल चौधरी, उमरावती यादव, बच्चा यादव,प्रकाश चौगाई,चुमनबाबू केबट,सुनिल यादव,अशोक जैसवाल,ललिता साह,पवन ब्याहुत लगायतको सहभागिता थियो। प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सो कार्यक्रममा स्वागत मन्तव्य कलैया नगर अध्यक्ष रन्जित चौरसियाले गरेका थिए भने संचालन जिल्ला सचिव शम्भु कुमार गुप्ताले गरेका थिए ।

Leave a review

This will close in 0 seconds