पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

रासस
332 पाठक संख्या

पर्सा : पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।

गत मङ्गलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिनुभयो ।

“गत मङ्गलबार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्”, उहाँले भन्नुभयो, “फरार भएका बालसुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरु नआएको खण्डमा अर्काे मुद्दा चल्नेछ ।”

बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बालसुधारगृहबाट भागेका किशोरहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो । “बालसुधारगृहबाट भागेकाहरुको खोजी कार्य तीव्र बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।”

बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरु भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।

Leave a review

This will close in 0 seconds