प्रजिअ सुवेदीद्वारा पर्साका केही स्थान दंगाग्रस्त क्षेत्र तोकिए

साझेदारी दैनिक
233 पाठक संख्या

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्सा वीरगञ्जले शान्ति सुरक्षा सुदृढ हुदै गइरहेको अवस्थामा केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार एक सूचना जारी गरी अनिश्चितकालको लागि सो क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेका हुन्।

जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको घण्टाघर चोकदेखि गण्डकचोकसम्मको राजमार्ग क्षेत्र तथा र वीरगञ्ज कारागार कार्यालयको कम्पाउन्ड क्षेत्रलाई अर्को आदेश नआउन्जेलसम्मका लागि दङ्गाग्रस्त घोषणा गरेको हो। जेन–जी आन्दोलन र प्रदर्शन पश्चात् जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) को प्रावधान प्रयोग गरी यस्तो घोषणा गरिएको हो।

यस्तै वीरगञ्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट सम्ममा स्थानीय प्रशासन ऐन, २०२८ को प्रावधानअनुसार निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरिएको छ।

बिहान ११ बजेदेखि साँझ ९ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम उक्त क्षेत्रमा ५ जना वा सोभन्दा बढी व्यक्तिहरूलाई जम्मा हुन, कुनै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पनि निषेध गरेको छ। त्यस्तै, सोही ऐनको दफा ६ (ख) को खण्ड (ज) बमोजिम अर्को आदेश नभएसम्म प्रत्येक दिन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको छ ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाहरू एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर बोक्ने सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी, इन्धन ग्यास ट्याङ्कर र हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनलाई सहज बनाउन सुरक्षाकर्मीले सहयोग गर्नेछन्।

निषेधाज्ञा अवधिमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस, घेराउ, धर्ना, बैठकजस्ता कुनै पनि गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ।

Leave a review

This will close in 0 seconds