माधवनारायण नगर प्रमुख बैजनाथ यादवद्वारा आगलागी पीडितलाई राहत सहयोग

Om Prakash Yadav
252 पाठक संख्या

रौतहट : रौतहटको माधवनारायण नगरपालिकाले आगलागी पीडित एक परिवारलाई तत्काल राहत सहयोग गरिएको छ। मानवतामूलक भावना सहित तत्काल नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ।

विद्युत सर्टका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। घरबारविहीन बनेका माधवनारायण नगरपालिका–६ माधोपुर निवासी भोजेन्द्रराय यादव र उनको परिवारलाई नगरपालिकाले सहयोग गरेको हो। नगरपालिकाले तत्काल राहत स्वरूप खाद्यान्न तथा दैनिक उपभोग्य आपतकालीन सामग्री उपलब्ध गराएको छ।

शुक्रबार राति अचानक भएको आगलागीले यादवको घर पूर्ण रूपमा खरानीमा परिणत भएको थियो। आगोले घरसँगै घरभित्र रहेका अन्नपात, भाँडा बर्तन, कपडा, गरगहना, नगद तथा दैनिक जीवनयापनका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो। घरबार सबै गुमेपछि परिवार खुला आकाशमुनि बस्न बाध्य भएको अवस्थामा नगरपालिकाले तत्काल पहल गरेको हो।

पीडित परिवारको अवस्थाबारे जानकारी पाए लगत्तै नगर प्रमुख बैजनाथ प्रसाद यादव घटनास्थलमा पुगेका थिए। उनले राहत सामग्री हस्तान्तरण गरेका थिए। नगरपालिकाको तर्फबाट ग्यास चुल्हो र ग्यास सिलिन्डर प्रदान गरिएको हो। दुई बोरा चामल, दाल, नुन, खाने तेल, चिउरा लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको छ।

साथै चिसो मौसमलाई दृष्टिगत गर्दै ओढ्ने न्यानो कपडा, कम्बल तथा ब्ल्याङ्केट समेत उपलब्ध गराइएको छ। पीडित परिवारलाई दैनिक खाना पकाउन र बसोबासका लागि आवश्यक भाँडाबर्तन, टर्चलाइट तथा अस्थायी आवास व्यवस्थापनका लागि त्रिपाल हस्तान्तरण गरिएको हो। उक्त राहत सामग्री नगर प्रमुख यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रराय यादव तथा माधोपुरका वडा अध्यक्ष राम नरेश रायले संयुक्त रूपमा पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

नगर प्रमुख यादवले आगलगीजस्ता विपद्का घटनाले पीडित परिवारलाई एकाएक बेसहारा बनाउने जनाए।स्थानीय सरकारको पहिलो दायित्व पीडितको पीडामा साथ दिनु रहेको उनले जनाए। नगरपालिकाको यस तत्कालीन सहयोगले आगलगी पीडित यादवको परिवारलाई ठूलो राहत मिलेको छ।

Leave a review