वीरगञ्ज : पर्साको वीरगञ्जका जेनजी युवाहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई र महानगरप्रमुखलाई फोहोर पानी उपहार दिएका छन ।
वीरगन्जका जेनजी पुुस्ताका करिब ३० जना युवाहरुले रानीघाटस्थित सिर्सिया नदीमा पुगेर त्यहाँबाट २० वटा बोत्तलमा नदिको फोहोर पानी भरेर पानीका बोत्तलहरु जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तथा वीरगन्ज महानगरपालिकाको मेयरको कार्यालयमा लगेर दिएका हुन । लामो समयदेखी प्रदुषण र अतिक्रमणको चपेटामा परेको बारा,पर्सामा बग्ने सिर्सिया नदीको सफाई र संरक्षणका लागि यहाँका युवाहरुले स्वस्फूर्त जागेर दबाबमुलक अभियान स्वरुप उक्त फोहोर पानी उपहार दिएका थिए ।
बारा र पर्साको औद्योगिक कोरिडोरका उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त दुषित पानी र फोहारजन्य पदार्थ सिधै सिर्सिया नदीमा बिसर्जन गर्दै आएका कारण सिर्सिया नदी प्रदुषणको चपेटामा परेको हो । झण्डै तीन दशकदेखि प्रत्यक्ष रुपमा औद्योगीक प्रदुषणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने विषयमा पटक पटक वहस र छलफल भएपनि काम हुन सकेको थिएन । वीरगन्ज महाननगरपालिकाले पनि पटक पटक प्रदुषणमुक्त बनाउने भनेपनि काम नभएपछि वीरगञ्जका जेनजी युवाहरु नदी सरसफाईमा आँफै जागरुक भएर सरसफाई अभियान संचालन गरेका छन ।
दवावमुलक अभियान संचालन गरेका युवाहरुले अभिानको पहिलो दिन शनिबार सिर्सिया नदीको कालो पानी २० वटा बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा लगेर दिएको बताएका छन । सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन यसअघि महानगरसहित अन्य निकायले गरेको प्रयास असफल भएपछि अब हामी युवाहरु नै स्वस्फूर्त रुपमा अगाडि आएको अभियानमा संलग्न युवा किसु सर्राफले जानकारी दिएका छन ।
युवाहरुले बारा र पर्साको औद्योगिक कोरिडोरका उद्योगहरुले नै सिर्सिया नदीलाई प्रदुषित बनाउने कार्यमा संलग्न भएको भन्दै आगामी शनिवार यहाँका उद्योगहरुमा पनि बोत्तलमा फोहोर नदीको पानी भरेर वीरगन्ज उद्योग वाणिज्य संघ सहित उद्योगहरुमा लगेर दिने अभियान्ता सर्राफले जानकारी दिए ।
वीरगञ्जका युवाहरुले दवावमुलक थप कार्यक्रमहरु अन्तरगत पर्साको अन्य पालिकाहरु, बाराको परवानीपुर गाँउपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयहरुमा, संघ र प्रदेश सभामा प्रतिनित्व गरेका निर्वतमान संघीय सांसदहरु, पूर्व संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्रीहरुको पनि घर र कार्यालयमै पुगेर फोहोर पानीसहितको बोत्तल लगेर दिने कार्यक्रम रहेको अर्का एक अभियान्ताले बताएका छन ।

