बहिरा अधिकारको पक्षमा राष्ट्रिय भेला बारामा सुरु

रञ्जन यादव
243 पाठक संख्या

जीतपुर : बहिरा समुदायका अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको भेला तथा २९ औँ वार्षिक साधारणसभा बाराको कलैयामा सुरु भएको छ।

“सांकेतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने मूल नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा देशभरका ४२ जिल्लाबाट बहिरा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कलैयास्थित करण राज प्यालेसमा आयोजना गरिएको भेलाको अवसरमा बिहानै नगर परिक्रमा गर्दै जनचेतनामूलक -याली आयोजना गरिएको थियो। -यालीमा बहिरा समुदायका व्यक्तिहरू, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।

सहभागीहरूले सांकेतिक भाषालाई व्यवहारिक रूपमा लागू गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक सेवामा बहिरा समुदायको पहुँच सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन । -याली तथा भेलामा बहिरा व्यक्तिहरूलाई अपाङ्गताको सीमित दृष्टिकोणबाट होइन, छुट्टै भाषा र संस्कृतिका रूपमा पहिचान गर्नुपर्नेमा जोड दिइयो।

भेलाको जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले उद्घाटन गरेका छन। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहले नीति निर्माणदेखि कार्यान्वयनसम्मका सबै तहमा बहिरा समुदायको सहभागिता अनिवार्य हुनुपर्ने बताए । उनले संविधान र कानुनमा व्यवस्था गरिएका बहिरा अधिकारहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म स्पष्ट नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताए।

राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष के.सि.को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, अपाङ्गता सम्बन्धी संघ–संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

करिव ४२ जिल्लाका सहभागि रहेको उक्त राष्ट्रिय भेलाहरूले बहिरा समुदायप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न, अधिकारबारे जनचेतना फैलाउन तथा राज्यलाई नीतिगत दबाब दिन महत्त्वपूर्ण भूमिका खेल्ने महासंघले विश्वास लिइएको छ । देशको ५५ वटा जिल्लामा बहिरा संघ गठन रहेको जनाईएको छ।

Leave a review