कलैया । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोट छाप्ने मेसिन सहित बाराका २ जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं २ कबलपुर बस्ने ४२ वर्षिय गौरीशंकर यादव र फेटा गाउँपालिका वडा नं ३ घरभई भारतको मोतिहारी लाला टोलको पतौना बस्ने २८ वर्षिय सबि कुमार श्रीवास्तव रहेका प्रहरीले जनाएको छ ।
नक्कली नोटको कारोबार भइरहेको छ भने गोप्य सूचनाका आधारमा पौष १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ८ उत्तरखेल चौक स्थितबाट १ हजारको ९३ वटा नोटसहित ६ जना मानिसलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्नता देखिएका यादवलाई सोधपुछ गर्दा श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र २० गते नक्कली नोट छाप्ने आवश्यक सामग्री नेपाल ल्याउने बताएका थिए।
उक्त सुचना पश्चात बीआर ०५ ऐएफ २५११ नम्बरको भारतीय बुलेट मोटरसाइकलको पछाडि सिटमा नक्कली नोट छाप्ने मेसिन, बनाउने कम्प्युटर लगायतका प्रिन्टिङ मेसिनहरु काठमाडौं लग्दै गरेको अवस्था जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक नरेन्द्र कुवरसंग समन्वय गरेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धले श्रीवास्तवलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनीहरूको साथबाट प्रहरीले ५ वटा गाडीमा भारतीय ५०० दरको ३१७ वटा नोट, मोनिटर, किबोर्ड, माउस, केवलतार १० थान, मोबाइल, कलर प्रिन्ट, सिपीयु, एम अडियो लेखिएको बक्स, टोनर ८ थान, नक्कली पेस्तोल र लालिगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज १८० थान सादा कागज ७५ गरी २५५ थान कागज प्रहरीले नियन्त्रणमा लिएको छ।


