कोल्हबी : मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले थारु समुदायलाई एकताबद्ध बनाउने तथा लोप हुँदै गएका थारु रीति–रिवाज, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा गर्न जोडमहोत्सवले महत्वपूर्ण योगदान पु-याउने बताएका छन। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित डुवरवाना खेल मैदानमा सातौँ थारु माघी महोत्सव २०८२ को शुक्रबार उद्घाटन गर्दै मन्त्री यस्तो बताएका छन।
‘थारु सांस्कृतिक जोगाऔँ, अपन पहिचान बचाऔँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरी थारु समुदाय यस भूभागका भूमिपुत्र भएको उल्लेख गर्दै उहाँले जल, जमिन र जंगलमा थारुहरूको ऐतिहासिक हक अधिकार रहेको जिकिर गर्नुभयो। साथै पछिल्लो पुस्तामा थारु भाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मातृभाषाको संरक्षण र प्रयोगमा युवाहरूलाई सक्रिय हुन मन्त्री आग्रह गर्नुभयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) की केन्द्रीय सदस्य श्रीमती श्रीदेवी चौधरी, प्रदेशसभा सदस्य देवनारायण चौधरी, थाकस बाराका सभापति रामप्रसाद चौधरी, वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर १४ का अध्यक्ष चयन गुरुङ, राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनोद बैध, उपाध्यक्ष लक्ष्मीकान्त प्यारेलाल चौधरी, संविधानसभा सदस्य दिलमाया धामी, पूर्व सभासद सुन्दर बी.के., जीतपुरसिमराकी पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरीलगायत थारु समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
महोत्सवको पहिलो दिन हरफरौरी नृत्य, कुबरी गीत, थारु पुरबी गीत तथा समाचकेवा गीतजस्ता थारु संस्कृतिलाई झल्काउने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो। महोत्सवअन्तर्गत शनिबार चर्चित थारु मोडेल तथा कलाकार वीर चौधरी, ममता चौधरी र समीक्षा चौधरीको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै महोत्सवमा थारु समुदायका परम्परागत परिकारका विभिन्न स्टलहरू पनि राखिएका छन्।
कल्याणकारणी सभा नगर कार्य समिति, जीतपुरसिमराका सभापति राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर कार्य समितिका कोषाध्यक्ष राजाराम चौधरीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन ध्रुव चौधरी, नीरु चौधरी र प्रमोद चौधरीले गर्नुभएको थियो।


