प्रतिबन्धित ट्रमाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

साझेदारी डेलि
238 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित ट्रमाडोल ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका-१ रहरिया डिहका ४२ वर्षीय राम अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडीका ३० वर्षीय सुवास सर्राफ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। वीरगञ्ज बसपार्कबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको रातो रंगको टाटा सुमो गाडीलाई रोकी जाँच गर्दा प्रतिबन्धित औषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीको छतमा पहेँलो त्रिपालले ढाकी हरियो–पहेँलो–कालो रंगको जेब्रा झोला र पहेँलो–कालो रंगको बोराभित्र लुकाइछिपाइ राखिएको ट्रमाडोल ५० एमएलका ५२ हजार ३०० ट्याब्लेट बरामद गरिएको छ।

उक्त कार्यमा संलग्न दुबै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds