बारा । मधेश प्रदेश सरकारले बाराको कलैया–मलाही सडक स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक आयोजना व्यवस्थापन इकाइ, जनकपुरधामले १६.२२६ किलोमिटर लामो सडक निर्माण तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिएको छ। सडक स्तरोन्नतिपछि कलैया–मलाही सडकखण्डमा आवागमन सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।
आयोजना दुई चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा साइट क्लियरेन्स, कालोपत्रे तथा बायो–इन्जिनियरिङसम्बन्धी काम गरिनेछ। दोस्रो चरणमा निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म कार्यसम्पादनमा आधारित मर्मतसम्भार गरिने व्यवस्था छ।
बोलपत्रमा सहभागी हुन इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ असोज २० गते (६ अक्टोबर २०२६) मध्यान्ह १२ बजेसम्म प्राविधिक तथा वित्तीय प्रस्ताव पेस गर्नुपर्नेछ। प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिनेछ।
बोलपत्र जमानतका लागि ३ करोड ८ लाख रुपैयाँ (अमेरिकी डलर २ लाख) रकम तोकिएको छ।
लामो समयदेखि स्तरोन्नतिको आवश्यकता महसुस हुँदै आएको कलैया–मलाही सडकको यो आयोजना कार्यान्वयनमा आएपछि स्थानीय बासिन्दाका साथै जिल्लाका विभिन्न क्षेत्रबाट हुने आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।


