सरकारी अस्पतालबाट निजीमा डाइभर्ट : बच्चाको ‘अक्सिजन कम’ भन्दै लाखौँ असुलीको आरोप

साझेदारी डेलि
415 पाठक संख्या
1

कलैया : बाराको कलैयास्थित प्रादेशिक अस्पताल जहाँ सर्वसाधारणले सस्तो र सहज उपचारको अपेक्षा गर्छन । त्यहीँबाट बिरामीलाई निजी क्लिनिकतर्फ ‘डाइभर्ट’ गर्ने एकपछि अर्को घटना सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्रमै हलचल मच्चिएको छ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालमा आएका बिरामीलाई मनोवैज्ञानिक दबाब, त्रास र भ्रम सिर्जना गर्दै आफ्नै निजी अस्पताल ‘कलैया सबमेट्रो सिटी हस्पिटल ’मा सार्ने संगठित अभ्यास सञ्चालन गरेको आरोप लागेको केहीदिन नवित्दै फेरी अर्को घटना सार्वजनिक भएको हो।

अर्का पीडित तथा स्थानीयका अनुसार सरकारी अस्पतालमा सामान्य अवस्थाका बिरामीलाई समेत “ज्यान जोखिममा छ”, “अक्सिजन कम छ”, “यहाँ सम्भव छैन” जस्ता अभिव्यक्ति प्रयोग गरी त्रास सिर्जना गरिन्छ। त्यसपछि समाधानका नाममा निजी क्लिनिकको विकल्प अघि सारिन्छ। एक सेवाग्रही सिकिन्दर सहनी भन्छन्, “सरकारी अस्पतालमा सबै ठीक देखिन्छ, तर अचानक डर देखाएर निजी अस्पताल लैजान दबाब दिइन्छ। त्यहाँ पुगेपछि महँगो शुल्क असुलिन्छ।” यस आरोपलाई पुष्टि गर्ने रूपमा सुवर्ण गाउँपालिकाकी एक सुत्केरी महिलाको घटना बाहिर आएको छ।

ती महिलाले प्रादेशिक अस्पतालमै सामान्य रूपमा बच्चा जन्माएकी थिइन्। तर, केही समयमै “बच्चाको अक्सिजन लेभल खतरनाक छ, ज्यान जान सक्छ” भन्दै परिवारलाई त्रसित पारिएको आरोप छ। परिणामतः, परिवारलाई तत्काल निजी अस्पतालमा लैजान बाध्य बनाइयो। निजी अस्पतालले १४ दिनसम्म भर्ना राखी करिब १ लाख ४० हजार रुपैयाँ असुलिएको पीडितको दाबी छ। आर्थिक रूपमा कमजोर परिवारले छुटको आग्रह गर्दा अस्वीकार गरिएको मात्र होइन, तिरेको रकमको आधिकारिक भ्याट बिलसमेत नदिई साधारण कागजमा हिसाब थमाइएको आरोपले थप शंका जन्माएको छ।

स्थानीय बासिन्दा र सरोकारवालाहरूका अनुसार यो घटना एक्लो होइन, बरु अस्पतालभित्रै जरो गाडेको सम्भावित ‘दलाली प्रणाली’को संकेत हो। “सरकारी अस्पतालबाट बिरामी निजी क्लिनिकमा सार्नु स्वास्थ्य सेवामाथिको ठाडो आक्रमण हो,” एक स्थानीयले भने, “यो सीधा–सीधा गरिबमाथिको शोषण हो।”

यसैविच प्रादेशिक अस्पताल कलैयामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राहुल मण्डलको नाम प्रयोग गरी नर्सहरूले बिरामीलाई अस्पतालभित्रैबाट निजी ‘मंगलम ल्याब’ मा पठाउने गरेको भिडियो सार्वजनिक भएपछि अर्को विवाद थपिएको छ। यदि यस्तो कार्य पुष्टि भयो भने, यसले अस्पतालभित्रको अनियमितता ‘व्यक्तिगत नभई संरचनागत’ हुनसक्ने आशंका बलियो बनाएको छ।

आरोपबारे प्रतिक्रिया दिँदै डा. रामनिवास साहले सबै आरोप अस्वीकार गरेका छन्। उनले भने,“मलाई त्यस्तो घटना याद छैन। पुरानो कुरा हुन सक्छ। बिना तथ्य आरोप लगाइएको हो। सबै बिल दिइएको छ, कसैले हराएको हुन सक्छ। एक रुपैयाँ पनि बढी लिएको छैन।” उनको भनाइले घटनालाई अस्वीकार गरे पनि पीडितको बयान र प्रमाणको दाबीबीच गम्भीर विरोधाभास देखिएको छ।

यता प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले भने घटनाबारे छानबिन सुरु भइसकेको बताएका छन्। “दोष प्रमाणित भए कडा कारबाही हुन्छ,” उनले भने। उनका अनुसार हाम्रो ल्याबमा सुविधाहरु छन्,कुनैकुनै स्पेशल टेस्टहरु हाम्रोमा हुदैनन्। जस्तै टिपिएचए र डिएनेहरु खासमा नेपालमै नै नहुने टेस्टहरु विरामी उपचारका क्रममा इन्डिया तिर पनि पठाउनुपर्छ,यो अस्पतालमा हुने टेस्ट कसैले बाहिर पठाएको भेटियो भने कारवाही गर्छौ,उनले भने ।

यस्तै बारा क्षेत्र नम्बर–३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अरविन्द्र शाहले घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले“सरकारी अस्पताल गरिबका लागि हो। त्यहीँबाट बिरामीलाई जालमा पार्नु अत्यन्त निन्दनीय हो, ।” “यस्तो घटनालाई निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नैपर्छ।” उनले भने, । तर, स्थानीयहरू प्रश्न गर्छन, यस्ता गम्भीर आरोपमा ‘छानबिन हुँदैछ’ भन्ने औपचारिक प्रतिक्रिया मात्र आउने गरेको बताउछन ।

Leave a review

This will close in 0 seconds