पर्सा मालपोतमा करोडौं रकम हिनामिना: तत्कालीन अधिकृत मिश्रसहित पाँच जनाविरुद्ध आरोपपत्र

साझेदारी डेलि
215 पाठक संख्या

कलैया । करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा जिल्ला मालपोत कार्यालय पर्सामा कार्यरत कर्मचारी तथा केही व्यक्ति विरुद्ध आरोपपत्र दायर गरेको छ। दुई करोड ९३ लाख अठसट्ठी हजार पाँच सय पैसट्ठी रूपैँयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा उनीहरु उपर अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र विरुद्ध ३८ लाख ८० हजार तीन सय ६८ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप लागेको छ। मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीउपर एक करोड १० लाख ६० हजार पाँच सय २४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो। मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्यालउपर २१ लाख ३८ हजार एक सय ६९ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको हो।

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत सुरेन्द्र प्रसाद राव कुर्मीले ९९ लाख १० हजार पाँच सय १५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो।मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा स्वर्गिय किरण प्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायउपर दुई करोड ९३ लाख ६८ हजार पाँच सय ६५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो।

मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७०।७१ मा रजिष्ट्रेशन फाँट “ग” मा बर्षभरिको राजस्व आम्दानी नै नबाँधेको तथा उक्त रसिदहरूबाट प्राप्त रकम बैंङ्क दाखिलासमेत नगरी सरकारी राजस्व हिनामिना गरेकोले फाँटमा कार्यरत कर्मचारीहरूलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०।७१ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ग” बाट एकै नम्बरका दोहोरो÷तेहेरो रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरेको देखिएको पाइएको छ। रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि भएका एकै दर्ता नम्बर कायम भएका दोहोरो/तेहेरो लिखतहरू र सोसँग सम्बन्धित आम्दानी रसिदहरूको तुलना गरी हेर्दा कम राजस्व रकमको लिखतहरूको चलानी बनाई लेखा फाँटमा बुझाएको देखाएको हो।

उक्त लिखतहरूको रकम बैङ्क दाखिलासमेत भएको तर बढी राजस्व कायम रहेको लिखतहरू दर्ता किताबमा थप गरी प्रविष्टि गरेको, उक्त थपेका लिखतहरूबाट प्राप्त राजस्व रकम लेखा फाँटमा पनि नबुझाएको र आन्तरिक/अन्तिम लेखापरीक्षण तथा दर्ता किताब प्रमाणितसमेत नगरी बढी राजस्व रकम हिनामिना गरेको देखिएको, एकै रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखतहरू पारित गरी कम थैली अंक भएका लिखतहरूको मात्र रकम बुझाउने र बढी रकम रहेका लिखतहरूको रकम नबुझाई/नदेखाई आर्थिक वर्ष २०७०/७१ मा तत्कालीन मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ग” बाट उठेको रजिष्ट्रेशन दस्तुरवापतको रकम रू.२ करोड ९३ लाख ६८ हजार ५६५ रूपैँयाँ राजस्व हिनामिना भएको देखिँदा उक्त कसुरजन्य कार्यमा संलग्न रहेका उपर मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Leave a review

This will close in 0 seconds